गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर २४ गते । तेह्रौं दक्षिण एसियाली खेलकुद(साग) अन्तगर्त फुटबल विधाको स्वर्ण पदकको लागि स्पर्धा हुँदैछ । फुटबलको फाइनल स्पर्धामा नेपालले भुटानको सामना गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपालले भुटानको सामना दिउँसो तीनबजेदेखि सुरु हुँदैछ । भुटान विरुद्धको खेलमा रेजिन सुब्बा खेल्नुहुन्न । बङ्गलादेश विरुद्धको खेलमा दोहोरो पहेंलो कार्ड पाएपछि सुब्बा फाइनलमा उत्रिन बञ्चित हुनुभएको हो ।
खेलका लागि नेपालको सुरुवाती एघार सार्वजनिक गरिएको छ । सुजल श्रेष्ठको कप्तानीमा नेपाली फुटबल टोलीमा सुमन अर्याल, तेज तामाङ, नितिन थापा, विक्रम लामा, सुनील बल, अभिषेक रिजाल, अनन्त तामाङ् र विकेश कुथु रहेका छन् ।
भुटान विरुद्ध नेपालले लिग चरणकै पहिलो खेलमा विशाल अन्तरले जित हात पारेकोले दशरथ रङ्गशालामा उच्च आत्मविश्वासका साथ उत्रिनेछन् । पहिलो खेलमा भुटान ४–० ले पराजित भएको थियो । पहिलो खेलमा फराकिलो जित र घरेलु मैदानमा खेल हुने भएकोले नेपाली टोलीले भुटान विरुद्धको स्पर्धा जितेर उपाधि रक्षा गर्न ठूलो अवसर प्राप्त भएको छ ।
भुटान विरुद्धको पहिलो खेलमा कप्तान सुजल श्रेष्ठले दुई गोल गर्नुभएको थियो । त्यसैगरी, अभिषेक रिजाल र मिक्चेन तामाङले एक एक गोल गर्नुभएको थियो । अनन्त तामाङले बङ्गलादेश विरुद्धको पछिल्लो खेलमा गर्नुभएको एक मात्र गोल नै निर्णायक हुन गयो । जसले गर्दा नेपाली खेलाडी लयमा छन् ।
तेह्रौं सागमा एउटै स्वर्ण जित्न नसकेको भुटानले भने नेपाललाई पराजित गरेर पहिलो र एकमात्र स्वर्ण जित्न प्रयत्नशील रहनेछ ।