प्रजित शाक्य
काठमाडौँ, मङ्सिर २८ गते । दक्षिण एसियाली खेलकुदले फुटबलमय भएको दशरथ रङ्गशाला शनिबारदेखि शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलले व्यस्त हुनेभएको छ । यस सत्रको घरेलु शीर्ष लिगमा उद्घाटन खेल मच्छिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लबबीच हुँदैछ ।
नेपालका उत्कृष्ट फुटबल खेलाडी अब साढे दुई महिना लिगमा व्यस्त हुनेछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा १४ मध्ये नौ क्लबका प्रशिक्षक, कप्तान अथवा व्यवस्थापकले आ–आफ्नो तयारी र अपेक्षाबारे धारणा राखेका छन् । शहीद स्मारक ‘ए’ डिभिजन लिगको पूर्वसन्ध्यामा के भन्छन् त प्रशिक्षक तथा कप्तानहरू :
तोपे फुजा (मनाङ मस्र्याङ्दी क्लब, प्रशिक्षक)
यसपटक टिममा पछिल्लो संस्करणमा लिग जिताउने केही खेलाडी नभए पनि हाम्रो लक्ष्य उपाधि रक्षा गर्ने नै हुनेछ । हुन त नामले फुटबल खेल्ने होइन । मैदानमा भित्र राम्रो रणनीति र खेल्ने खेलाडी चाहिन्छ । यसपटक पनि हाम्रो टिम राम्रो छ ।
राजुकाजी शाक्य (एनआरटी, प्रशिक्षक)
न्युरोड टिम (एनआरटी) साग खेलकुदमा प्रतिस्पर्धा गर्न केही खेलाडी अभ्यासमा नहुँदा केही असर परेको छ तर अन्य खेलाडी एक महिनादेखि लिगको तयारीमा छौँ । पछिल्लो सत्रमा एनआरटीले राम्रो स्थान ल्याउन सकेन तर यसपालि एनआरटीले अङ्क तालिकाको राम्रो स्थानमा रहने विश्वास गरेको छु ।
नवीन न्यौपाने (त्रिभुवन आर्मी क्लब, प्रशिक्षक)
उपाधिकै लागि खेल्ने हो । साग खेल र राष्ट्रिय टिमको बन्द शिविरले टिम सेट भने हुन पाएको छैन । गत वर्ष पनि हामी उपाधि दावेदार थियौँ तर धेरै खेलमा बराबरीमा रोकिँदा हाम्रो च्याम्पियन बन्ने लक्ष्य पूरा हुन सकेन । यसपटक गत वर्षको गल्तीमा सुधार गर्नेछौँ । हाम्रो बेञ्च पनि राम्रो छ ।
प्रवेश कटुवाल (मच्छिन्द्र क्लब, प्रशिक्षक)
हामीले यसपालि स्टार खेलाडीहरू अनुबन्धन गरेका छौँ । टिम तयारी अलि कम भएको छ तर यसले फरक पार्ने छैन । हामी लिगको दावेदारका रूपमा प्रस्तुत भएका छौँ । साग खेलकुदमा सामेल तीन खेलाडी हिजो मात्र टिममा संलग्न भएका छन् । मैले झापा टिम सम्हाल्दा भएका खेलाडी अहिले यस टिममा धेरै छन् । त्यसैले टिम संयोजन गर्न र रणनीति बनाउन सहज हुने आशा मैले गरेको छु ।
भरत शाह (नेपाल पुलिस क्लब, व्यवस्थापक)
प्रशिक्षक अनन्त थापाले ए लाइसेन्स प्रशिक्षणमा रहेकाले पछिल्ला २० दिनदेखि प्रशिक्षण दिनुभएको छैन तर नेपाल प्रहरी १२ महिना नै अभ्यासमा रहने टिम हो । हाम्रो टिममा विदेशी खेलाडी हँुदैन । पहिलेदेखि नै खेलिरहेका खेलाडी नै छन् । यसपालि लिगलाई जित्ने किसिमले नै तयारी गरेका छौँ । खेलमा उतारचढाव आउला तर राम्रो नतिजा निकाल्ने प्रयास गर्नेछौँ । विगतका लिगमा पुलिसले बनाएको दबदबा फर्काउने कोशिस हुनेछ ।
बालगोपाल साहुखल (च्यासल क्लब, प्रशिक्षक)
पहिलोपटक पूर्णकालीन प्रशिक्षकको जिम्मेवारी पाएको छु । मैले यसलाई अवसर र चुनौतीका रूपमा लिएको छु । अभ्यास मैदानको समस्या छ तर पनि तयारी राम्ररी नै गरेका छौँ । च्यासलले तीन जापानी खेलाडी भिœयाएको छ । प्राविधिकरूपमा अफ्रिकी खेलाडीभन्दा राम्रा छन् । यी तीन जापानी खेलाडीलगायत सन्तोष साहुखल र साग फुटबल फाइनलमा निर्णायक गोल गर्ने सुनील बलबाट हामीले धेरै अपेक्षा राखेका छौँ ।
राजेन्द्र तामाङ (एपीएफ, प्रशिक्षक)
एपीएफ १२ महिना नै प्रशिक्षणमा रहने टिम हो । लिगका लागि हामीले साउनको दोस्रो हप्तादेखि नै तयारी गरेका हौँ । यसबीच तीन मोफसलको प्रतियोगिता पनि खेल्यौँ । यही महिना काठमाडौँमा भएको चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिता पनि जित्यौँ । जसले लिगका लागि हाम्रो मनोबल उच्च भएको छ । हाम्रोमा राष्ट्रिय खेलाडी छैनन् तर नतिजा राम्रो आउने छ ।
अशोक श्रेष्ठ (हिमालयन शेर्पा, व्यवस्थापक)
मैदानले टिम तयारीको समस्या भयो । हामीले पोखरामा अभ्यास गरेका हौँ । अब धुलिखेल मैदानमा प्रशिक्षण गर्नेछौँ । यसपटक पनि पछिल्लो संस्करणमै खेलेका खेलाडीहरू धेरै छन् । यसपालि गत वर्षको भन्दा राम्रो स्थानमा आउने अपेक्षा छ । हमीले विश्वास श्रेष्ठ, किशोर गिरी, मानबहादुर तामाङबाट यसपटक पनि अपेक्षा गरेका छौँ भने विदेशी खेलाडी टिममा ल्याउने प्रयास भइरहेको छ ।
अर्विन गुरुङ (ब्रिगेड ब्वाइज क्लब, व्यवस्थापक)
पछिल्लो लिगको टिमबाट खासै फेरबदल भएको छैन । यद्यपि यसपटक तीन सिनियर खेलाडी अनिल गुरुङ, विजय गुरुङ र उत्तम गुरुङ टिममा हुनुहुन्छ । यिनीहरूले टिममा अनुभव प्रदान गर्नेछन् । किनभने हाम्रो टिममा ९० प्रतिशत यू–१८ का खेलाडी छन् । हामीले गत वर्षजस्तै युवा खेलाडीलाई महìव दिएको छौँ । पूर्व कप्तान अनिलले ब्रिगेड ब्वाइजबाटै पदार्पण गर्नुभएको हो । यसपटक उहाँ फेरि आफ्नो नयाँ क्लबमा फर्कनुभएको छ ।