logo
२०८१ मंसिर ८ शनिवार



पोखराद्वारा काठमाडौंमाथि ९ विकेटको जित

खेलकुद |


पोखराद्वारा काठमाडौंमाथि ९ विकेटको जित


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर २९ गते । पोखरा प्रिमियर लिगको पहिलो खेलमा पोखरा पल्टनले ९ विकेटले जित हात पारेको छ । काठमाडौं गोल्डेन वरियर्सले प्रस्तुत गरेको ११६ रनको सहज लक्ष्य पोखराले मात्र एक विकेटको क्षतिमा ११९ रन बनाएर पुरा गर्यो ।
पोखरामा आजबाट सुरु भएको पहिलो खेलमा घरेलु टोलीलाई सहज जित दिलाउन कुशल भुर्तेलले आक्रामक पारी खेल्नुभयो । उहाँ ४३ बलमा चार चौका र पाँच छक्का लगाएर अविजित रहँदै ६५ रनको योगदान दिनुभयो । अर्का ओपनर आरिफ शेष मात्र १४ रनमै पेभेलियन फर्किएपनि रविन्द्र सिंहले ३८ रनको उत्कृष्ट पारी खेलेर टिमलाई जित दिलाउनुभयो ।
काठमाडौंका लागि सुशन भारी एक विकेट लिनुभयो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको काठमाडौंले कमजोर सुरुवातका बावजूद औसत योगफल बनाउन सफल भयो । २१ रनकै स्थितिमै जयकृष्ण कोल्सावाला, सुवास खकुरेल र ज्ञानेन्द्र मल्लको विकेट झरेपछि दबाबमा आएको काठमाडौंलाई गौरव तोमरले स्थिरता दिने प्रयास गरेपनि उहाँ १३ रन बनाएर पेभेलियन फर्किनुभयो ।
६० रनमा छ विकेट गुमाएको काठमाडौंको पारी सुबोध भाटीले मात्र २९ बलको सामना गर्दै चार चौका र चार छक्काको सहयोगले ४५ रनको योगदान दिएर उकास्नुभयो । सुशन १० रन बनाएर अविजित रहनुभयो । काठमाडौंको पारीको सातजना ब्याट्सम्यानले दोहोरो योगफल समेत छुन सकेनन । उसको पारी धाराशायी बनाउन राशिद खान, ललितनारायण राजवंशी र कुशल मल्लले सामान दुई दुई विकेट लिँदा सर्वजित लड्डाले एक विकेट लिनुभयो ।
भुर्तेल खेलको म्यान अफ द् म्याच घोषित हुनुभयो ।  

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?