एजेन्सी
काठमाडौं, मङ्सिर २९ गते । शाई होप र सिमरन हैटमरले शतकीय पारी खेलेपछि वेष्टइन्डिजले भारत विरुद्धको पहिलो अन्तर्राष्ट्रिय एकदिवसिय खेलमा आठ विकेटको भारी अन्तरको जित हात पारेको छ । जितसँगै पाहुना टोली वेष्टइन्डिज तीन म्याचको एकदिवसिय श्रृखंलामा १–० को अग्रता लिएको छ ।
भारतले प्रस्तुत गरेको २८८ रनको लक्ष्य वेष्टइन्डिजले ४८ औं ओभरको अन्तिम बलमा मात्र दुई विकेटको क्षतिमा २९१ रन बनाएर पुरा गर्यो । वेष्टइन्डिजलाई जित दिलाउन सिमरन हैटमरले विष्फोटक पारी खेल्नुभयो । उहाँले मात्र १०६ बलको सामना गर्दै ११ चौका र सात छक्काको सहयोगमा १३९ रन बनाएर पेभेलियन फर्किनुभयो । ओपनर साइ होपले अविजित रहँदै १०२ रनको योगदान दिनुभयो । दुबैजनाले दोस्रो विकेटका लागि २१८ रनको कीर्तिमानी साझेदारी गर्नुभयो । अर्का ओपनर सुनिल एम्ब्रोस मात्र ९ रन बनाएर पेभेलियन फर्किदा दबाबमा आएको वेष्टइन्डिजलाई होप र हैटमरले जित उन्मुख गराए । निकोलास पूरन २९ रनमा अविजित रहनुभयो । भारतका लागि मोहम्मद सामी र दीपक चाहरले सामान एक एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको घरेलु टोलीले पुरा ५० ओभर खेलेर आठ विकेटको क्षतिमा २८७ रनको योगफल तयार गरेको थियो । विकेटकीपर ब्याट्सम्यान ऋषभ पन्तले ७१ तथा श्रेयास ऐयरले ७० रनको योगदान दिदा भारत सम्मानजनक योगफलसम्म पुगेको थियो । ऐयरले चौथो विकेटका लागि पन्तसँग ११४ रनको साझेदारी गर्नुभयो । रबिन्दर जडेजाले २१ तथा केदार जाधबले ४० रनको योगदान दिनुभयो । वेष्टइन्डिजका लागि शेल्डन कोट्रेल, कीमो पौल र अल्जारी जोसेफले सामान दुई दुई तथा क्यारन पोलार्डले एक विकेट लिनुभयो ।