गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर ३० गते । पोखरा प्रिमियर लिगको दोस्रो खेलमा धनगढी एक्सपर्टले बिराटनगर टाइटन्सलाई पाँच रनको झिनो अन्तरले पराजित गरेको छ । धनगढीले प्रस्तुत गरेको ११८ रनको लक्ष्य पछ्याउँदै बिराटनगर मात्र ११२ रनमा खुम्चिन पुग्यो ।
पोखरामा जारी प्रिमियर लिग क्रिकेट टी ट्वान्टीको दोस्रो खेलमा ११८ रनको लक्ष्य पछ्याउँदै बिराटनगरले २० ओभरमा ९ विकेटको क्षतिमा ११२ रनमा समेटिन पुग्यो । तीन रनमा दुई विकेट गुमाएको बिराटनगरको नियमित अन्तरालमा विकेटको पतन भएपछि उसले औसत लक्ष्य पाउन कठीन भयो । विकेटकीपर ब्याट्सम्यान राजु रिजालले बिराटनगरका लागि गर्नुभएको २५ रनको योगदान नै सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो । कप्तान प्रदीप ऐरीले १० तथा सुनिल धमलाले १८ रन बनाउनुभयो ।
बिराटनगरको पारी सस्तोमै समेटन दिपेन्द्रसिंह ऐरीले सर्वाधिक तीन तथा सागर ढकालले दुई विकेट लिनुभयो । कमल सिंह, अमित यादब र अमित खरेलले सामान एक एक विकेट लिनुभयो ।
यसअघि पोखरामा टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको धनगढीले पुरा २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ११७ रनको औसत योगफल तयार गरेको थियो । धनगढीका लागि श्रीमन्थ विजयारत्नेले सर्वाधिक २५ रनको योगदान दिनुभयो । कमल सिंह ऐरी अविजित २६ रनको योगदान दिनुभयो । ९ औं नम्बरमा ब्याटिङ्ग गर्न आउनुभएका ऐरीले मात्र २१ बलको सामना गरेर दुई चौका र दुई छक्कासहित २६ रन बनाउनुभयो ।
धनगढी र बिराटनगर दुबैको ब्याटिङ्गमा उल्लेख्य साझेदारी हुन सकेन । ब्याटिङ्गमा डक आउट भएपनि बलिङ्गमा तीन विकेट लिनुभएका धनगढीका कप्तान दिपेन्द्रसिंह ऐरी खेलको म्यान अफ द् म्याच घोषित हुनुभयो ।