गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर ३० गते । बुटबल ब्लास्टर्सले पोखरा प्रिमियर लिगको तेस्रो खेलमा काठमाडौं गोल्डेन वरियर्सलाई सुपर ओभरमा हराएको छ । काठमाडौंको प्रतियोगितामा लगातार यो दोस्रो हार हो । सुपर ओभरमा बुटबलले प्रस्तुत गरेको १३ रनको लक्ष्य पछ्याउँदै काठमाडौं मात्र पाँच रनमा सिमित हुनपुग्यो ।
बुटबलका लागि अविनाश बोहराले सुपर ओभरमा बलिङ्ग गर्ने जिम्मेवारी पाउनुभयो । काठमाडौंले सुबोध भाटी र गौरव तोमारलाई ब्याटिङ्गको लागि पठायो । अविनाशले पहिलो बलमा गौरवलाई बिट गराउनुभयो । दोस्रो बलमा गौरवले दुई रन लिन सफल हुनुभयो । तेस्रो बलमा गौरव तोमारले डिप मिड अनमा शंकर रानाको हातमा क्याच थमाउनुभयो । चौथो बलमा स्ट्राइकमा आउनुभएका सुबोधले मात्र एक रन लिन सक्नुभयो । अन्तिम दुई बलमा १० रन आवश्यक छँदा जयकृष्ण कोल्सावालाले एक तथा सुबोधले मात्र एक एक रन ल्याउन सक्दा बुटबल ब्लास्टर्सले ७ रनको जित हात पार्न सफल भयो ।
सुबोध भाटीले काठमाडौंका लागि बलिङ्गको जिम्मेवारी सम्हाल्नुहुँदै पहिलो बल बिट गराउनुभयो । दोस्रो बलमा हर्ष टोंगको लामो प्रहार काठमाडौंले छक्का हुनबाट रोक्दै बाउन्ड्रीभित्र फर्काएर मात्र दुई रनमा सिमित गरेको थियो । तेस्रो र चौथो बलमा लगातार दुई चौका लगाउँदै टोङ्कले पाँचौं बलमा एक रन दिएर शिवम सिंहलाई स्ट्राइक दिनुभयो । सिंहले गर्नुभएको प्रहारलाई चौका हुनबाट बसन्त रेग्मीले रोक्नुभयो र अन्तिम बलमा दुई रन लिएर बुटबलले काठमाडौं समक्ष १३ रनको लक्ष्य प्रस्तुत गर्यो ।
यसअघि काठमाडौं गोल्डेन वरियर्सले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याउँदै बुटबल ब्लास्टर्स २० ओभरमा सात विकेटको क्षतिमा मात्र १४० रन जोड्न सक्यो । अन्तिम दुई ओभरमा जितको लागि १० रन आवश्यक छँदा काठमाडौंका सुबोध भाटीले १९ औं ओभरमा मात्र एक रन खर्चेर दुई विकेट लिएपछि दबाब बुटबलमाथि आएको थियो । अन्तिम ओभर बलिङ्गको जिम्मेवारी पाउनुभएका पवन सर्राफले ९ रन खर्चेर एक विकेट लिएपछि खेल सुपर ओभरमा गएको थियो ।
बुटबललाई लक्ष्य नजिक पुर्याउन हर्षा टोङ्कले २९ बलमा तीन चौका र तीन छक्का लगाएर सर्वाधिक ४५ रनको योगदान दिनुभयो । शिवम सिंहले अविजित रहँदै बनाउनुभएको ३३ रन बुटबललाई सुपर ओभरसम्म पुर्याएको थियो । उहाँले मात्र २१ बलको सामना गरेर दुई चौका र तीन छक्का लगाउनुभयो । शिवमले अमर रौटेलाको १७ औं ओभरमा १९ रन लिएर बुटबललाई लक्ष्य नजिक पुर्याउनुभया ।
काठमाडौंका लागि सुबोध भाटी र सुशन भारीले सामान दुई दुई तथा सूर्य तामाङ, अमर रटौला र पवन सर्राफले सामान एक एक विकेट लिनुभयो ।
यसअघि पोखरामा टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको काठमाडौं गोल्डेनले उत्कृष्ट सुरुवात गरेपनि उच्च योगफल बनाउन सकेन । जयकृष्ण कोल्सावालाले २८ तथा सुवास खकुरेलले १५ रनको योगदान दिएर पहिलो विकेटका लागि ३८ रनको साझेदारी गर्नुभयो । बाँकीको ५१ रन जोड्न काठमाडौंले कप्तान ज्ञानेन्द्र मल्ललाई १५ र आदिल खानको २३ रनसहित पाँच विकेट गुमाउन पुग्यो । पवन सर्राफले अमर रौटेलासँग सातौं विकेटका लागि महत्वपूर्ण ५१ रनको साझेदारी गरेर काठमाडौंको योगफल छ विकेटको क्षतिमा १४० रनको औसत योगफलसम्म पुर्याउन सफल हुनुभयो ।