गोरखापत्र अनलाइन
काठमाडौं, पुस १ गते । नेपाल बक्सिङ संघले १३ औं दक्षिण एशियाली खेलकुद(साग) का बक्सिङ खेलमा पदक विजेता खेलाडीलाई सम्मान गरेको छ ।
नेपाल बक्सिङ संघले आयोजना गरेको ‘बक्सिङ खेलाडी सम्मान र विदाई’ कार्यक्रममा सागमा स्वर्ण विजेता मिनु गुरुङ, भुपेन्द्र थापामगर र सनिल शाहीलगायतलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले मंगलबार सम्मान गर्नुभएको हो ।
कार्यक्रममा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले जनही एकलाख ५० हजार रुपियाँ र संघका संस्थापक अध्यक्ष विष्णुगोपाल श्रेष्ठले जनही पचासहजार रुपियाँ सम्मान स्वरुप स्वर्ण विजेता खेलाडीलाई प्रदान गर्नुभयो ।
त्यसैगरी, चीनमा आयोजना हुन लागेको एसियाली ग्रायण्ड स्लाम बक्सिङ प्रतियोगितामा भाग लिन जाने साग खेलकुदमा स्वर्ण विजेताद्वय मिनु गुरुङ र भुपेन्द्र थापामगरसहितको टोलीलाई विदाइ समेत गर्नुभयो ।
सम्मान गर्नुहुँदै परिषदका सदस्य सचिव सिलवालले बक्सिङ खेलमा फियर भएको भए नेपालले छ वटा स्वर्ण जित्ने पक्का रहेको दाबी गर्नुभयो ।
आउँदो १४ औं सागमा ७५ वटा स्वर्ण जित्ने लक्ष्यका साथ खेलकुद क्षेत्रलाई व्यवस्थित गरेर अगाडि बढ्ने बताउँदै सम्पूर्ण खेलाडीलाई प्रशिक्षणमा लाग्न निर्देशन पनि दिनुभयो ।
राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आउँदो खेलकुद प्रतियोगितामा भाग लिन खेलाडी दर्ता अनिवार्य बनाउने उहाँले बताउनुभयो ।