logo
२०८१ मंसिर ८ शनिवार



प्रिमियर लिग टी ट्वान्टीमा बिराटनगरको पोखरामाथि सहज जित

खेलकुद |


प्रिमियर लिग टी ट्वान्टीमा बिराटनगरको पोखरामाथि सहज जित


गोरखापत्र अनलाइन
काठमाडौं, पुस २ गते । पोखरामा जारी प्रिमियर लिग टी ट्वान्टी क्रिकेट प्रतियोगितामा बिराटनगरले जित हात पारेको छ । पहिलो खेलमा हार बेहोरेको बिराटनगरले दोस्रो खेलमा पोखरामाथि ४५ रनको जित हात पारेको हो ।
बिराटनगरले प्रस्तुत गरेको १४६ रनको लक्ष्य पछ्याउने क्रममा पोखरा पल्टन १९.५ ओभरमा मात्र १०० रनमा समेटिन पुग्यो । पोखराको पारीका सातजना ब्याट्सम्यान दोहोरो योगफल जोड्न नपाउँदै पेभेलियन फर्किए ।
पोखराको पारीमा रोहित कुमार पौडेलले सर्वाधिक ३२ रन बनाएपनि जितका लागि पर्याप्त भएन । ओपनर कुशल भुर्तेलले मात्र १३ बलमा २४ रन बनाएर तेज तर्रार पारी खेल्ने क्रममा जितेन्द्र मुखियाको एलबीडब्ल्युको धरापमा पर्नुभयो । मुखियाले आफ्नो दोस्रो ओभरमा रबि इन्दर सिंहलाई कट बोल्ड गर्दा पोखरा दबाबमा आयो । अर्को छेऊबाट बलिङ्ग गर्नुभएका शाहब आलमले रोहितकुमार पौडेललाई खाता नखोल्दै क्याच आउट गराउने राम्रो अवसर विकेटकीपर राजु रिजाललाई दिनुभएको थियो । तर रिजालले क्याच छुटाएपछि पौडेलले तीन चौका र एक छक्काको सहयोगमा ३२ रन जोडन सफल हुनुभयो ।
आलमले अर्का ओपनर मोहम्मद आसिफ शेषलाई पनि ६ रनको ब्यक्तिगत् योगफलमा विकेट पछाडि क्याचको लागि उपलब्ध गराउनुभएको अवसर रिजालले खेर फाले । तिब्र गतिका बलर किशोर महतोले अन्त्यतिर पोखराको पारीका राशिद खान, प्रथमेश डाइक र ललितनारायण राजवंशीको विकेट लिएर बिराटनगरलाई जित दिलाउनुभयो । महतोले २१ रन खर्चेर तीन विकेट लिँदा जुनैद खानले दुई विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्ने आमन्त्रण पाएको बिराटनगरले उत्कृष्ट सुरुवातका बावजूद ७२ रनमै चार विकेट गुमाउन पुगेको थियो । ओपनर मोहम्मद जाइद आलमले २६ तथा सुनिल धमलाले ३६ रनको योगदान गरेर अद्र्धशतकीय साझेदारी गर्नुभयो । मध्यक्रममा कप्तान प्रदीपसिंह ऐरी र नोमान खान सस्तोमै पेभेलियन फर्किनुभयो । दिल्लीका ब्याट्सम्यान पुनित मेहराले मात्र २६ बलमा ६७ रनको अविजित पारी खेलेर बिराटनगरको योगफल पाँच विकेटको क्षतिमा १४५ सम्म पुर्याउनुभयो । उहाँले आफ्नो पारीमा पाँच चौका र चार छक्का लगाउनुभयो ।
पोखराका लागि कप्तान शरद भेषावकरले दुई तथा कुशल मल्ल र सर्वजित लड्डाले सामान एक एक विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?