एजेन्सी
काठमाडौं, पुस ३ गते । भारतले वेष्टइन्डिजविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय एकदिवसिय खेलमा १०७ रनको फराकिलो अन्तरको जित हात पारेको छ । जितसँगै तीन म्याचको श्रृखंला १–१ को बराबरीमा आएको छ । श्रृखंला अन्तगर्तको तेस्रो, अन्तिम तथा निर्णायक खेल कट्टकमा आगामी आइतबार खेलाइनेछ ।
विशाखापटनममा भारतले प्रस्तुत गरेको ३८८ रनको लक्ष्य पछ्याउँदै वेष्टइन्डिज ४३.३ ओभरमा मात्र २८० रनमा समेटियो । विशाल लक्ष्य पछ्याउने क्रममा वेष्टइन्डिजका तीनजना ब्याट्सम्यान ८६ रनमै पेभेलियन फर्किएको थियो । ओपनर साइ होपले निकोलास पूरनसँग चौथो विकेटका लागि १०६ रनको साझेदारी गरेपनि जितका लागि अपर्याप्य रह्यो । होप ७८ र पूरनले ७५ रनको योगदान दिनुभयो । किमो पौलले ४६ रनको योगदान दिदा वेष्टइन्डिजको पारी झण्डै समेटिन लागेको थियो ।
भारतीय बलिङ्गमा कुलदीप यादबले हयाट्रिक विकेट लिनुभयो । मोहम्मद सामीले निकोलास पूरन र साइ होपको साझेदारी तोड्दै महत्वपूर्ण तीन विकेट लिदा रबिन्दर जडेजाले दुई तथा श्रद्धुल ठाकुरले एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्न आमन्त्रण पाएको भारतले ५० ओभरमा पाँच विकेटको क्षतिमा ३८७ रनको विशाल योगफल तयार गरेको थियो । भारतका लागि ओपनरद्वय रोहित शर्मा र लोकेश राहुलले २२७ रनको कीर्तिमानी साझेदारी गरेपछि उसले विशाल योगफल तयार गर्न सफल रह्यो । दुबैजनाले शतक लगाए । ४३ औं ओभरमा शर्मा १५९ रनमा पेभेलियन फर्किदा भारतको योगफल २९२ रन थियो । वर्ष २०१९ मा रोहित शर्माको यो सातौं एकदिवसिय शतक हो । यसअघि १९९८ मा सचिन तेन्दुलकरले एकैवर्षमा ९ शतक लगाएर कीर्तिमान बनाउनुभएको छ । रोहित शर्मा एकै वर्षमा सबैभन्दा बढी शतक लगाउने दोस्रो खेलाडी बन्नुभयो ।
श्रेयास ऐयर र ऋषभ पन्तले अन्तिम दश ओभरमा विष्ुफोटक ब्याटिङ्ग गर्दै भारतलाई उच्च योगफलतर्फ डोरयाउनुभयो । ऐयरले ५३ तथा पन्तले ३९ रनको योगदान दिनुभयो । केदार जाधव १६ रनमा अविजित रहनुभयो ।
वेष्टइन्डिजका लागि शेल्डन कोट्रेलले दुई तथा किमो पौल, क्यारन पोलार्ड र अल्जारी जोसेफले सामान एक एक विकेट लिनुभयो ।