logo
२०८१ मंसिर ८ शनिवार



चितवनलाई बुटबलमाथि ११९ रनको विशाल अन्तरको जित

खेलकुद |


चितवनलाई बुटबलमाथि ११९ रनको विशाल अन्तरको जित


गोरखापत्र अनलाइन
काठमाडौं, पुस ३ गते । चितवन राइनोजले पोरखामा जारी प्रिमियर लिग टी ट्वान्टी क्रिकेट प्रतियोगितामा ११९ रनको विशाल अन्तरको जित हात पारेको छ । जितसँगै चितवन अङ्क तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । उसले लिगको दुई खेलमध्ये दुबैमा जित हात पारेर चार अङ्क बटुलेको छ । 
चितवनले प्रस्तुत गरेको २०४ रनको लक्ष्य पछ्याउने क्रममा बुटबल ब्लास्टर्स १८.३ ओभरमा मात्र ८४ रनमा समेटिन पुग्यो । विशाल लक्ष्य पछ्याउने क्रममा सोमपाल कामीको बुटबल ब्लास्टर्स १० रनमा तीन विकेट गुमाएर कमजोर सुरुवात गर्न पुग्यो । शिवम सिंहले मध्यक्रममा ३३ तथा भिम सार्कीले २१ रनको योगदान दिएपनि जितका लागि पर्याप्त भएन । हरि चौहान १२ रन बनाएर पेभेलियन फर्किनुभयो ।
बुटबललाई सस्तोमै समेटन करण केसीले तीन तथा रोहन मुस्तफाले दुई विकेट लिनुभयो । बिक्रम सोब, बिक्रम भूषाल, भुवन कार्की र सन्नी पटेलले सामान एक एक विकेट लिए । पटेलले तीन ओभरमा मात्रै ८ रन खर्चिदा मुस्तफाले आफ्नो तीन ओभरमा पाँच रन खर्चिए ।
यसअघि पोखरामा टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको चितवनले २० ओभरमा मात्र तीन विकेटको क्षतिमा २०३ रनको उच्च योगफल तयार गर्यो । पहिलो विकेटकै लागि ११७ रनको साझेदारी गरेर उसले उत्कृष्ट सुरुवात गरेको थियो । ओपनरद्वय रोहन मुस्तफाले ७० तथा कप्तान पारस खड्काले ६३ रनको योगदान दिनुभयो । यूएईका मुस्तफा अविजित रहनुभयो ।
पारसले मात्र ४० बलमो सामना गर्दै छ चौका र दुई छक्काको सहयोगमा ६३ रन जोड्नुभयो । चौथो नम्बरमा ब्याटिङ्ग गर्न आउनुभएका आरिफ शेषले विष्फोटक ब्याटिङ्ग गर्दै चितवनले विशाल योगफलतर्फ डोरयाउनुभयो । शेषले मात्र १९ बलको सामना गर्दै तीन चौका र तीन छक्काको सहयोगमा ४० रन बनाउनुभयो । बुटबलका लागि अफ्ताबुद्दिन अहमदले दुई तथा अनिवाश बोहराले एक विकेट लिनुभयो ।
मुस्तफा खेलको म्यान अफ द् म्याच घोषित हुनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?