गोरखापत्र अनलाइन
काठमाडौं, पुस ३ गते । प्याट्ट क्युमिन्स इन्डियन प्रिमियर लिगको इतिहासमा सबैभन्दा महँगो खेलाडी भएका छन् । उहाँलाई रोयल च्यालेन्जर्स बैंग्लौर र देल्ही क्यापिटल्सको बोलीमा उछिन्दै कलकत्ता नाइट राइडर्सले लिलामी प्रकृयामा सबैभन्दा बढी बोली लगाएर खरीद गरेको हो ।
इन्डियन प्रिमियर लिगमा खेलाडीको लिलामी प्रकृया बिहीबार भारतको कलकत्तामा चल्दा एकैदिनमा एक अर्ब ३५ करोड भारतीय रुपियाँमा ५५ खेलाडी विभिन्न फ्रेन्चाइजमा आबद्ध भए । उक्त प्रकृयामा सबैभन्दा बढी रुपियाँ अष्ट्रेलियाली खेलाडीको खातामा गयो । अष्ट्रेलियाका ११ खेलाडी ४० करोड ७५ लाखमा विभिन्न फ्रेन्चाइजमा आबद्ध भए ।
तर क्युमिन्स मात्रैले फ्रेन्चाइजको केन्द्रमा रहेनन । बरु अष्ट्रेलियाका ग्लैन म्याक्सवेलले पनि उत्तिकै ध्यान तान्यो । म्याक्सवेल हाल अष्ट्रेलियाली टोलीमा छैनन् । यद्दपी उहाँलाई १० करोड ७५ लाखमा पञ्जाबले अनुबन्धन गरेको छ । अष्ट्रेलियाकै ओपनर ब्याट्सम्यान आरोन फिञ्चलाई बैंग्लौरले चार करोड ४० लाखमा खरिद गरेको छ । दोस्रो चरणमा जोश हयाज्लऊड र मिसेल मार्श दुई करोडमा चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादमा आबद्ध भए ।
एक करोड न्युनत्तम मूल्यबाट सुरु भएको मार्कस स्टोनिसलाई टोलीमा पार्न राजस्थान र देल्हीबीच जुहारी नै चल्यो । देल्हीले चार करोड ८० लाखमा मार्कसलाई खरिद गर्यो ।
लिलामी प्रकृयामा ढिला गरी बोली लगाउन प्रवेश गरेको राजस्थान रोयलले मुम्बईका यशस्वी जैसवाललाई २ करोड ४० लाखमा किन्यो । जैसवाल भारतको ए श्रेणिमा दोहोरा शतक लगाउन सबैभन्दा कान्छो खेलाडी हुन् । २० लाख रुपियाँबाट सुरु भएको प्रकृयामा उहाँले १२ गुणा बढी रुपियाँ लगाएर राजस्थानले अनुबन्ध गर्यो ।
भारतको अन्डर १९ विश्वकप टोलीका कप्तान प्रियम गर्ग र झारखण्डका २२ वर्षिय ब्याट्सम्यान विराट सिंहलाई बैंग्लौर र देल्ही क्यापिटलले बोली लगाउन स्पर्धा गरिरहँदा किंग्स एलेभन पञ्जाबले एक करोड ९० लाखमा आबद्ध गरायो ।
तिब्र गतिका बलरलाई ठूलो राशि
लिलामीको दोस्रो चरणमा तिब्र गतिका बलरको नाममा रह्यो । नाथन कौल्टर नाइल र शेल्डन कोट्रेलका लागि फ्रेन्चाइजबीच ठूलै स्पर्धा भयो । अष्ट्रेलियाका तिब्र गतिका बलर कौल्टर नाइल केही छिनमै करोडपति भए । चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सले दुबैजनामाथि बोली लगाउने स्पर्धा गर्यो । तर अन्ततः कौल्टर नाइल आठ करोडमा मुम्बई इन्डियन्सका लागि खेल्ने निधो भयो ।
शेल्डन कोट्रेलका लागि त्रिकोणीय बोली सुरु भयो । राजस्थान, पञ्जाब र देल्हीले एक अर्कोलाई उछिन्दै कोट्रेललाई टोलीमा पर्न स्पर्धा गर्यो । पञ्जाबले आठ करोड ५० लाख बोली लगाएर कोट्रेललाई टोलीमा भित्रयायो ।
दुईपटक लिलामी प्रकृयामा सहभागी गराइएपनि बिक्रि हुन नसकेका दक्षिण अफ्रिकी बलर डेल स्टैन भने लिलामीको अन्तिम चरणमा फेरी एकपटक प्रकृयामा सहभागी गराइयो । यसपटक बैंग्लौरले उहाँलाई दुई करोड रुपियाँमा आबद्ध गरायो । भारतका तिब्र गतिका बलर जयदेव उनाकतलाई ती करोडमा राजस्थान रोयलले खरिद गर्यो ।
बरुण र चावलाको माग उच्च
आइपीएलको पछिल्लो संस्करणमा मात्र एक खेलमा सहभागी भई घाइते भएका बरुण चक्रवर्तीले त्यसयता कुनै म्याचमा सहभागी भएका छैनन् । उहाँलाई यसपटक कसैले वास्ता नगर्ने अपेक्षा गरिएको थियो । तर कलकत्ता र बैंग्लौरले विपरित दिशामा गयो । जादुगर स्पिनर बरुण चक्रवर्तीमाथि पनि फ्रेन्चाइजको नजर उच्च थियो । उहाँ चार करोडमा कलकत्तामा आबद्ध हुनुभयो ।
३१ वर्षिय स्पिनर पियूष चावला हाल भारतीय टोलीका शिर्ष स्पिनरमा छैनन् । हालै उहाँलाई कलकत्ताले मुक्त गरेको थियो । तर यसपटक उहाँलाई चेन्नईले छ करोड ७५ लाखमा किनेको छ । चेन्नईसँग हरभजन सिंह, रबिन्दर जडेजा, इमरान ताहिर र मिसेल शान्टनर जस्ता तिक्ष्ण स्पिनर यसअघि नै टोलीमा छन् ।
सिमरन हैटमर पनि करोडपति
भारत विरुद्धको पहिलो एकदिवसिय खेलमा शतकीय पारी खेल्नुभएका वेष्टइन्डिजका हैटमर पनि करोडपति भएका छन् । उहाँको न्युनत्तम बोली ५० लाख लगाइएको थियो । राजस्थान र कलकत्ताबीच उहाँलाई आबद्ध गराउन द्वन्द नै चल्यो । तर देल्हीले सात करोड ७५ लाखमा किन्न सफल भयो ।
आइपीएलका सबैभन्दा बूढा खेलाडी प्रवीण ताम्बे न्युनत्तम मूल्यमा कलकत्तामै रहने भएका छन् । ४८ वर्षिय स्पिनर ताम्बे न्युनत्तम मूल्यमा कलकत्तामा आबद्ध हुनुभयो ।