logo
२०८१ मंसिर ८ शनिवार



पहिलो दुई टेष्टमा दुई शतक बनाउने आबिद पाकिस्तानका पहिलो ब्याट्सम्यान

खेलकुद |


पहिलो दुई टेष्टमा दुई शतक बनाउने आबिद पाकिस्तानका पहिलो ब्याट्सम्यान


गोरखापत्र अनलाइन
काठमाडौं, पुस ५ गते । आबिद अलीले क्रिकेट जीवनको आफ्नो पहिलो दुई टेष्ट खेलमा शतक लगाउने पाकिस्तानका पहिलो ब्याट्सम्यान बन्नुभएको छ । घरेलु क्रिकेटमा संघर्ष गर्दै उमेरले ३२ पार गर्नुभएका आबिदले अवसर पाएपछि टेष्ट क्यारियरमा एकपछि अर्को कीर्तिमान भङ्ग गर्नुभएको छ ।
आबिदले आफ्नो टेष्ट क्यारियरको पहिलो खेल एवम् श्रीलङ्का विरुद्धको पहिलो टेष्ट खेलमा शतक लगाउनुभएको थियो । उक्त शतकसँगै उहाँले अन्तर्राष्ट्रिय एकदिवसिय र टेष्ट खेलमा शतक लगाउने पहिलो ब्याट्सम्यानको नयाँ कीर्तिमान बनाउनुभयो । जुन कीर्तिमान अहिलेसम्म कुनै ब्याट्सम्यानको नाममा थिएन ।
आबिद दोस्रो टेष्ट म्याचमा समेत शतक लगाएर पाकिस्तानका लागि नयाँ कीर्तिमान बनाउनुभएको हो । जावेद मियाँदाद, यूनिस खान, मोहम्मद युसूफ, इन्जमाम ऊल हक, इमरान खान जस्ता विश्वकै चर्चित ब्याट्सम्यान पाकिस्तानले दिएको छ । तर यसअघि आफ्नो खेल जीवनको पहिलो दुई टेष्ट खेलमा शतक लगाउने कीर्तिमान कुनै ब्याट्सम्यानले बनाउनुभएको छैन् ।
आबिद अघि विश्वका आठजना ब्याट्सम्यानको नाममा मात्रै उक्त कीर्तिमान छन् । भारतका मोहम्मद अजहरुद्दीन, सौरभ गांगुली, रोहित शर्मा, अष्ट्रेलियाका बिल पोन्सफोर्ड, डग वाल्टर्स, ग्रेग ब्लेवेट्टवेष्टइन्डिजका अल्वीन कालीचरण र न्युजिल्याण्डका जेम्स निशमको नाममा उक्त कीर्तिमान छन् । आधुनिक क्रिकेटमा रोहित शर्मा र निशमले मात्रै उक्त इतिहास बनाउनुभएको छ ।

श्रीलङ्का विरुद्धको दोस्रो टेष्ट म्याचको पहिलो पारीमा ८० रनले पछाडि परेको पाकिस्तानलाई आबिदले दोस्रो पारीमा उत्कृष्ट सुरुवात दिलाउनुभयो । आबिदले शान मसूदसँग अविजित २१३ रनको साझेदारी गर्नुभएको छ । उक्त साझेदारीकै कारण हार जोगाउन संघर्षरत पाकिस्तान श्रीलङ्का विरुद्धको दोस्रो टेष्टमा बलियो स्थितिमा पुगेको छ । शान मसूदले पनि शतक लगाउनुभएको छ । श्रीलङ्का विरुद्ध पहिलो विकेटको लागि पाकिस्तानको यो अहिलेसम्मकै सबैभन्दा ठूलो साझेदारी हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?