गोरखापत्र अनलाइन
काठमाडौं, पुस ६ गते । श्रीलङ्का विरुद्धको दोस्रो टेष्टको पहिलो पारीमा कमजोर प्रदर्शन गर्दै हार नजिक पुगेको पाकिस्तानले पाहुना टोली समक्ष ४७६ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । दोस्रो पारीमा पाकिस्तानका ओपनरद्वय आबिद अली र शान मसूदले उत्कृष्ट सुरुवात दिएपछि घरेलु टोलीको खेलमा वापसी भएको हो ।
श्रीलङ्काले खेलको चौथो दिनमा औसत सुरुवात गरेको छ । उसले १० ओभरमा एक विकेटको क्षतिमा ३९ रन बनाएको छ । जितका लागि उसलाई ४३७ रनको आवश्यकता रहेको छ भने दुई दिनको खेल बाँकी नै छ । चौथो दिनको खेल सकिन अझै ५३ ओभर बाँकी नै छ । श्रीलङ्काका लागि दिमुथ करुणारत्ने १६ रन बनाएर मोहम्मद अब्बासको बलमा मोहम्मद रिजवानलाई क्याच थमाउन पुग्नुभयो । ओशादा फर्नान्डो र कुशल मेन्डिस क्रिजमा ब्याटिङ्ग गर्दैछन् ।
यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको पाकिस्तानले आफ्नो पहिलो पारीमा १९१ रन बनाएको थियो । पाकिस्तानको पारीमा बाबर आजमले ६० तथा अशद शफिकले ६३ रनको योगदान दिनुभयो । लहिरु कुमारा र लासिथ इम्बुल्देनियाँले सामान चार चार विकेट लिनुभयो ।
जवाबमा श्रीलङ्काले आफ्नो पहिलो पारीमा २७१ रनको योगफल तयार गरेको थियो । दिनेश चण्डीमालले ७४ तथा दिलरुवाना परेराले ४८ रनको योगदान दिनुभयो । पाकिस्तानका लागि शाहीन शाह अफ्रिदीले पाँच तथा मोहम्मद अब्बासले चार र हरिश सोहैलले एक विकेट लिनुभयो ।
पहिलो पारीमा ८१ रनले पछाडि परेको घरेलु टोली दबाबमा आएको थियो । तर ओपनरद्वय शान मसूद र आबिद अलीले कीर्तिमानी पारी खेल्दा उसले मात्र तीन विकेटको क्षतिमा ५५३ रनको योगफलमा पारी घोषणा गर्दै श्रीलङ्का समक्ष ४७६ रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबैजनाले २७८ रनको ओपनिङ्ग साझेदारी गर्नुभयो । अजहर अलीले कप्तानको रुपमा पहिलो र टेष्ट क्रिकेटमा १६ औं शतक लगाउँदा उसको पारी उकासिएको थियो । पाकिस्तानको दोस्रो पारीका प्रारम्भिक चारैजना ब्याट्सम्यानले शतक लगायो । एउटै टोलीको प्रारम्भिक चारजना ब्याट्सम्यानले शतक लगाएको यो दोस्रो अवसर हो । यसअघि बङ्गलादेश विरुद्ध भारतका चारजना प्रारम्भिक ब्याट्सम्यानले २००७ मा शतक लगाउनुभएको थियो । ओपनर दिनेश कात्र्तिक र वसिम जाफर तथा राहुल द्रवीड र सचिन तेन्दुलकरले उक्त खेलमा शतक लगाउनुभएको थियो ।