गोरखापत्र अनलाइन
काठमाडौं, पुस ६ गते । पोखरा प्रिमियर लिगको १२ औं खेलमा बुटबल ब्लास्टर्सले धनगढी एस्क्सपर्टमाथि सात विकेटको जित हात पारेको छ । जितसँगै बुटबलले फाइनलमा स्थान बनाउन अङ्कतालिकामा काठमाडौंसँग स्पर्धा गर्नुपर्नेछ ।
पोखरामा जारी प्रिमियर लिग अन्तगर्त आइतबार सम्पन्न दोस्रो खेलमा धनगढीले प्रस्तुत गरेको १४१ रनको लक्ष्य बुटबलले खेल सकिन तीन ओभर बाँकी छदा मात्र तीन विकेटको क्षतिमा पुरा गरेको हो । बुटबलको जितमा ओपनर अफ्ताबुद्दीन अहमदले सर्वाधिक ५२ रनको योगदान दिनुभयो । उहाँले मात्र २३ बलको सामना गरेर एक चौका र सात छक्का लगाउनुभयो । अर्का ओपनर शंकर रानाले २५ रन बनाउनुभयो । हर्ष टङ्कले ४० रनको योगदान दिनुभयो । उहाँले २१ बलमा तीन चौका र चार छक्का लगाउनुभयो । शिवम सिंह १५ र भिम सार्की ७ रनमा अविजित रहनुभयो ।
धनगढीका लागि अनिल खरेलले दुई तथा दीपक पुनियाँले एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको धनगढीले १९.५ ओभरमा १४० रनमा अल आउट भयो । धनगढीलाई मध्यम योगफलसम्म डोरयाउन कप्तान दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ६१ रनको योगदान दिनुभयो । दिपेन्द्रले ४५ बलको सामना गर्नुभयो । सन्दीप जोराले ३९ रन बनाउनुभयो । अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन । बुटबलका लागि अविनाश बोहराले चार तथा ललित भण्डारीले तीन तथा सोमपाल कामीले एक विकेट लिनुभयो ।
धनगढीमाथि जितसँगै बुटबलले चार खेलमध्ये तीनमा जित हात पार्दै छ अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ । धनगढी, बिराटनगर र पोखरा भने चार खेलमध्ये मात्र एकमा जित हात पारेर दुई अङ्कसहित तीनै टोली तालिकाको पूछारमा छन् । लिग चरणमा अब प्रत्येक टोलीले एक एक खेल मात्रै खेल्न बाँकी रहेको छ । तेस्रो स्थानमा रहेको काठमाडौंले चार खेलमध्ये दुईमा जित हात पारेर चार अङ्क बटुलेको छ । चितवन भने चार खेलमध्ये चारैमा जित हात पारेर आठ अङ्कसहित शिर्ष स्थानमा छन् ।