गोरखापत्र अनलाइन
काठमाडौं, पुस ७ गते । पोखरा प्रिमियर लिगमा साबिक विजेता पोखरा पल्टन लिग चरणबाटै बाहिरिएको छ । पाँच खेलमध्ये पोखराले मात्र एउटामा जित हासिल पार्न सक्यो ।
सोमबार सम्पन्न खेलमा पोखरालाई धनगढी एक्स्पर्टले ५ विकेटले हराएको छ । पोखराले प्रस्तुत गरेको ८० रनको लक्ष्य धनगढीले मात्र १० ओभरमा पाँच विकेटको क्षतिमा ८५ रन बनाएर पुरा गर्दै सहज जित हात पारेको हो । प्रतियोगिताको प्ले अफबाट दुबै टोली बाहिरी सकेको हो । यद्दपी खेलअघि पुछारमा रहेको धनगढीले भने पाँच खेलमध्ये दुईमा जित हात पारेर तालिकामा आफ्नो स्थानमा सुधार गर्दै चौथो स्थानमा उक्लिएको छ ।
पोखरामा जारी प्रिमियर लिग टी ट्वान्टी क्रिकेट प्रतियोगिताको १३ औं खेलमा ८० रनको सहज लक्ष्य धनगढीले सहजै प्राप्त गर्यो । धनगढीको जितमा ओपनर रोड्रिगो थोमसले १५ तथा दीपक पुनियाले २५ रनको योगदान दिनुभयो । मञ्जित श्रेष्ठ ९ तथा अमित यादब छ रनमा अविजित रहनुभयो । पोखराका लागि प्रथमेश डाइक र सर्वजित लड्डाले सामान दुई दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको पोखराले १६.३ ओभरमा मात्र ७९ रनमा समेटिन पुग्यो । पोखराका लागि ओपनर मोहम्मद आसिफले सर्वाधिक ३२ रनको योगदान दिनुभयो । उहाँले २९ बलको सामना गर्नुभयो । बिनोद भण्डारीको १२ रन अतिरिक्त उसको पारीको नौ जना ब्याट्सम्यानले दोहोर योगफल समेत बनाउन सकेनन । पोखरालाई सस्तोमै समेटन धनगढीका लागि अनिल खरेलले तीन तथा दिपक पुनियाँ, कमलसिंह ऐरी र सागर ढकालले दुई दुई विकेट बाँड्नुभयो । खेलको म्यान अफ द् म्याच दीपक पुनिया घोषित हुनुभयो ।