गोरखापत्र अनलाइन
काठमाडौं, पुस ७ गते । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा मनाङ् मस्र्याङदी क्लबले लगातार दोस्रो जित हात पारेको छ । इन्ज्युरी समयमा मनाङ्का लागि दयानन्द सिंहले गोल गरेपछि त्रिभुवन आर्मी क्लब पराजित हुन पुगेको हो ।
दशरथ रङ्गशालामा सम्पन्न खेलमा मनाङ् मस्र्याङ्दी क्लबले त्रिभुवन आर्मी क्लबमाथि १–० को जित हात पारेको हो । मनाङ्का लागि एक मात्र गोल इन्ज्युरी समयमा दयानन्द सिंहले गर्नुभयो । खेलको ९२ औं मिनेटमा विमल रानाको प्रहारलाई त्रिभुवन आर्मीका गोलरक्षक विकेश कुथुले रोक्नुभयो । तर रिबाउन्डमा दयानन्दको प्रहारले गोलपोष्ट भेटेपछि मनाङ्ले अन्तिम समयमा लिएको १–० अग्रता नै निर्णायक रहन गयो ।
जितसँगै मनाङ्ले दुई खेलबाट छ अङ्क प्राप्त गरेको छ । पहिलो खेलमा जित हात पारेको आर्मी भने दोस्रो खेलमा हार बेहोरेपछि दुई खेलबाट तीन अङ्कमा कायम छ ।