गोरखापत्र अनलाइन
काठमाडौं, पुस ८ गते । पोखरामा जारी प्रिमियर लिग टी ट्वान्टी खेलमा चितवन राइनोजले काठमाडौं गोल्डेन वरियर्सलाई ६० रनको विशाल अन्तरले हराएको छ । हारसँगै पाँच खेलबाट मात्र चार अङ्क बटुलेको काठमाडौंले इलिमिनेटरमा स्थान बनाउन बुटबल ब्लास्टर्स र बिराटनगर टाइटन्स विरुद्धको अन्तिम खेलमा र्निभर हुनुपर्नेछ । बुटबल यसअघि नै लगभग स्थान तय गरिसकेको छ । यद्दपी पाँच खेलबाट धनगढीले पनि सामान चार अङ्क जोडेको छ । तर काठमाडौंको नेटरन रेट धनगढीभन्दा बढी छ ।
जितसँगै चितवन भने पाँच खेलमध्ये पाँचैमा जित हात पारेर फाइनलका लागि स्थान सुनिश्चित गरेको छ ।
पोखरामा जारी प्रिमियर लिगको १४ औं खेलमा चितवनले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौं २० ओभरमा सात विकेटको क्षतिमा मात्र १०७ रन जोडन सक्यो । उच्च लक्ष्य पछ्याउने क्रममा जयकृष्ण कोल्सावल, अमित श्रेष्ठ र गौरव तोमारको रुपमा प्रारम्भिक तीन विकेट १८ रनमै गुमाएर काठमाडौं फितलो सुरुवात गरेको थियो । तर कप्तान ज्ञानेन्द्र मल्लले पवन सर्राफसँग चौथो विकेटका लागि ४४ रनको साझेदारी गर्दा काठमाडौंले खेलमा वापसी गर्यो । पवन सर्राफ मात्र १९ बलमा चार चौका र एक छक्काको सहयोगमा २७ रन बनाएर पेभेलियन फर्किनुभयो । कप्तान मल्लले पृथु बास्कोटासँग २१ रन जोडेर ४० रनको ब्यक्तिगत् योगफलमा पेभेलियन फर्किदा काठमाडौंको हार लगभग तय भएको थियो । बास्कोटाले १८ रन बनाउनुभयो ।
काठमाडौंलाई सस्तोमै समेटन चितवनका लागि सन्नसी पटेल र रोहन मुस्तफाले सामान दुई दुई तथा करण केसी, भुवन कार्की, रामनरेश गिरी र पारस खडकाले एक एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको चितवनले २० ओभरमा चार विकेटको क्षतिमा १६७ रनको योगफल तयार गरेको थियो । रोहन मुस्तफा र बाबर हयातले उत्कृष्ट अद्र्धशतकीय पारी खेलेपछि चितवनले काठमाडौं समक्ष ठूलो योगफलको लक्ष्य प्रस्तुत गर्न सफल भएको हो । रोहनले ५९ रनको योगदान दिनुभयो । हयातले मात्र ४७ बलमा तीन चौका र छ छक्काको सहयोगमा ७० रन बनाएर पेभेलियन फर्किनुभयो । आरिफ शेषले ९ बलमा १५ रनको योगदान दिएर पेभेलियन फर्किनुभयो । सन्नी पटेल पारीको अन्तिम बलमा रन आउट हुनु अघि ८ बलमा १५ रन बनाउनुभयो ।