गोरखापत्र अनलाइन
तनहुँ, पुस ८ गते । तनहुँको सदरमुकाम दमौलीमा आयोजित जिल्ला स्तरीय खुल्ला सेभेन ए साइड पुरुष फुटबल प्रतियोगिताको उपाधि दोभान युवा क्लब ए भादगाउँले जितेको छ ।
सोमबारको फाइनलमा रामथुम्की युवा क्लबलाई २–० गोलले पराजित गर्दै दोभान ए ले उपाधि जितेको हो । दोभान ए को तर्फबाट साजिन थापा र खेम गुरुङले गोल गर्नुभयो । प्रतियोगिताको विजेता दोभान ए लाई एक लाख एक हजार १ सय ११ रुपियाँ र उपविजेता रामथुम्की युवा क्लबलाई ५० हजार ५ सय ५५ रुपियाँका साथै मेडल, ट्रफी र प्रमाणपत्र व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले प्रदान गर्नुभयो ।
प्रतियोगितामा दोभान ए का साजिन थापा उत्कृष्ट खेलाडी, सोही क्लबका खेम गुरुङ सर्वाधिक गोलकर्ता र रामथुम्की युवा क्लबका सागर वि.क. उत्कृष्ट गोल किप्पर घोषित भई नगद पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगितामा २८ वटा टिमको सहभागिता रहेको थियो ।