गोरखापत्र अनलाइन
काठमाडौं, पुस ९ गते । बिराटनगर टाइटन्स पोखरामा जारी प्रिमियर लिग क्रिकेट टी ट्वान्टी प्रतियोगिताको एलिमिनेटमा पुगेको छ । बुटबल ब्लास्टर्सले प्रस्तुत गरेको १३४ रनको लक्ष्य बिराटनगरले पुरा गर्दै एलिमिनेटरका लागि स्थान सुरक्षित गरेको छ । फाइनलमा स्थान सुरक्षित गर्न बिराटनगरले अब प्ले अफमा बुटबलसँग स्पर्धा गर्नेछ । चितवन राइनोज भने तालिकामा शिर्ष स्थानमा रहँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
जितसँगै बिराटनगर अङ्कतालिकाको तेस्रो स्थानमा पुगेको छ । बुटबल भने पाँच मध्ये तीन खेलमा जित हात पारेर दोस्रो स्थानमा रहेको छ । बिराटनगरले भने पाँचमध्ये मात्र दुईमा जित हात पारेर चार अङ्कसहित तेस्रो स्थानमा उक्लिएको हो । काठमाडौं गोल्डेन वरियर्स भने प्रतियोगिताबाट बाहिरिएको छ । पाँच खेलमध्ये दुईमा जित हात पारेपनि नेट रनरेटको आधारमा बिराटनगरले काठमाडौंलाई उछिनेको हो । बिराटनगरको नेट रन रेट ०.४७५ रहँदा काठमाडौंको नेट रनरेट ०.३९ छ ।
यसअघि पोखरामा जारी प्रिमियर लिगको दोस्रो संस्करणमा बुटबलले प्रस्तुत गरेको १३४ रनको लक्ष्य बिराटनगरले मात्र ११.४ ओभरमा छ विकेटको क्षतिमा १३६ रन बनाएर पुरा गर्यो । बिराटनगरको जितमा मोहम्मद जाइद आलम र लोकश बलमे विष्फोटक सुरुवात गर्नुभयो । पहिलो दश बलमै दुबैले २६ रन जोडेर उत्कृष्ट सुरुवात दिलाउनुभयो । आलम २४ रन बनाएर पेभेलियन फर्किदा लोकेश बमले १३ रन बनाउनुभयो । पुष्प थापा १८ तथा तथा नोमान खानले ३५ तथा पुनित मेहराले ३२ रनको योगदान दिनुभयो ।
बुटबलका लागि नितेश थापाले दुई तथा कमल खत्री र हर्ष टङ्कले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको बुटबलले रन जोड्न नपाउँदै अफ्ताबुद्दीन अहमदको रुपमा पहिलो विकेट गुमाएपछि दबाबमा आएको थियो । तर तेस्रो नम्बरमा आउनुभएका हर्ष टङ्कले ६७ रनको उत्कृष्ट पारी खेलेपछि ऊ आठ विकेटको क्षतिमा १३३ रनको औसत योगफलसम्म पुगेको थियो । शिवम सिंहले ३७ रन बनाउनुभयो ।
बुटबललाई औसत योगफलसम्म रोक्न मोहम्मद जाइद आलमले सर्वाधिक चार तथा किशोर महतोले दुई र दीपेश श्रेष्ठ एवं शहाब आलमले एक एक विकेट लिनुभयो । मोहम्मद जाइद खेलको म्यान अफ द् म्याच घोषित हुनुभयो ।