गोरखापत्र अनलाइन
काठमाडौं, पुस ९ गते । सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबले आफ्नो अपराजित यात्रालाई जारी राखेको छ । उसले फ्रेन्ड्स क्लबलाई ३–० ले हराएको छ ।
दशरथ रङ्गशालामा बुधबार सम्पन्न खेलमा मच्छिन्द्रका लागि दुबै गोल विदेशी खेलाडीले गरे । खेलमा जित दिलाउन पिटर सेगुन र सोमाडी एडिजेलाले एक एक गोल गर्नुभयो । विराज महर्जनको कप्तानीमा रहेको मच्छिन्द्रका लागि पहिलो हाफको २८ औं मिनेटमा सेगुनले हेड मार्फत् गोल गर्नुभयो । पहिलो हाफमा १–० को अग्रता लिएको मच्छिन्द्रले दोस्रो हाफमा एडिजेलाको गोलमा अग्रतालाई २–० पार्यो । खेलको अन्त्यतिर ८५ औं मिनेटमा रेजिन सुब्बाको गोलमा मच्छिन्द्रले फ्रेन्डस क्लबलाई ३–० ले हराउँदै आफ्नो अपराजित यात्रा जारी राख्यो ।
बुधबार नै सम्पन्न अर्को खेलमा न्युरोड टिमले च्यासलमाथि २–१ को जित हात पारेको छ । न्युरोड टिमको जितमा जुनियर अनगुइने निकेङ र दर्शन गुरुङले एक एक गोल गर्नुभयो । कर्नरमा प्राप्त बललाई निकेङले २३ औं मिनेटमा हेडमार्फत गोलमा परिणत गर्दै खेलमा १–० को अग्रता दिलाउनुभयो ।
खेल सकिन मात्र चार मिनेट बाँकी रहँदा दर्शनले गोल गर्दै न्युरोड टिमको अग्रता २–० बनाउनुभयो । तर इन्ज्युरी समयमा च्यासलका लागि अमिर श्रेष्ठले गोल गरेर अन्तर छोट्याएपनि हार टार्न सक्नुभएन ।