एलिमिनेटरमा बिराटनगरद्वारा बुटबल समक्ष १६६ रनको लक्ष्य
गोरखापत्र अनलाइन
काठमाडौं, पुस १० गते । पोखरा प्रिमियर लिगको एलिमिनेटर खेलमा बिराटनगर टाइटन्सले बुटबल ब्लास्टर्स समक्ष १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ । एलिमिनेटरमा जित हात पार्ने टोलीले उपाधिको लागि चितवन वरियर्ससँगको भेट सुनिश्चित गर्नेछ ।
पोखरामा टस हारेर पहिला ब्याटिङ्ग गर्न निम्ता पाएको बिराटनगरले पुरा २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १६५ रनको योगफल तयार गर्यो । बिराटनगरलाई उच्च योगफलसम्म पुर्याउन ओपनर सुनिल धमलाले सर्वाधिक ६१ रनको योगदान दिनुभयो । उहाँले मात्र ५४ बलको सामना गर्दै छ चौका र दुई चौकाको सहयोगमा ६१ रन जोड्नुभयो । कप्तान प्रदीप ऐरीले अविजित रहँदै १३ बलमा एक चौका र चार छक्काको सहयोगमा ३३ रन बनाउनुभयो । पुनित मेहराले १९ तथा लोकेश बमले समेत १९ रनको योगदान दिनुभयो । अर्का ओपनर मोहम्मद जाइद आलम २० रन बनाएर रन आउट हुनुभयो ।
बुटबलका लागि हर्ष टङ्कले दुई तथा अविनाश बोहरा र ललित भण्डारीले एक एक विकेट लिनुभयो ।