गोरखापत्र अनलाइन
काठमाडौं, पुस १० गते । बिराटनगर टाइटन्स पोखरामा जारी प्रिमियर लिग टी ट्वान्टी खेलको फाइनलमा पुगेको छ । फाइनलमा उपाधिका लागि उसले चितवन राइनोजसँगको स्पर्धा सुनिश्चित गरेको छ । फाइनल खेल शनिबार पोखरा रङ्गशालामा हुनेछ ।
पोखरा प्रिमियर लिगको एलिमिनेटर खेलमा बिराटनगरले बुटबललाई २१ रनले हराउँदै उपाधिको लागि चितवनसँगको भेट सुनिश्चित गरेको हो । प्रदीपसिंह ऐरीको कप्तानीमा रहेको बिराटनगर टाइटन्स प्रिमियर लिगको फाइनलमा पुगेको यो पहिलो अवसर हो । बिराटनगरले प्रतियोगितामा लगातार दुई दिनमा दुई पटक बुटबललाई हरायो । बुधबार बुटबललाई हराउँदै काठमाडौं गोल्डेनसँग नेटरन रेटमा बढ्त बनाउँदै एलिमिनेटरमा पुगेको बिराटनगरले बुटबललाई पराजित गर्न सफल रह्यो ।
बिराटनगरले प्रस्तुत गरेको १६६ रनको लक्ष्य पछ्याउँदै बुटबल २० ओभरमा १४४ रनमा समेटिन पुग्यो । बुटबलका लागि ओपनर अफताबुद्दीन अहमदले मात्र २२ बलको सामना गर्दै ४३ रनको पारी खेलेर उत्कृष्ट सुरुवात दिलाउनुभएको थियो । सहाब आलमले आफ्नो बलिङ्ग स्पैलको पहिलो बलमै अफताबुद्दीनको विकेट लिनुभयो ।
शंकर राना चार र हर्ष टङ्कले दुई रनमा पेभेलियन फर्किदा मध्यक्रममा भिम सार्कीले उत्कृष्ट ब्याटिङ्ग गर्दा बुटबलले फाइनलमा स्थान सुनिश्चित गर्ने आशा पलाएको थियो । १५ ओभरमा मात्र पाँच विकेटको क्षतिमा १२७ रन जोडेको बुटबलले जितका लागि २८ बलमा ३९ रन आवश्यक रहँदा भिम सार्की पूर्ण विकको विकेट खसेपछि दबाबमा आयो । उक्त दबाबबाट बिराटनगरको बलिङ्ग आक्रमणले मुक्त हुन नपाउँदै बुटबलको ब्याटिङ्ग लाइन अफ एकपछि अर्को गरी धरमराउन थाल्यो । दुई ओभरमा २७ रन आवश्यक छँदा १९ औं ओभरमा जितेन्द्र मुखियाले मेडन ओभर गर्दा बुटबल जितभन्दा टाढिन पुग्यो । अनिवाश बोहरा स्ट्राइकमा रहदा जितेन्द्रको पुरै ओभर बिट हुनुभयो । पुनित मेहराले २० औं ओभरमा कप्तान सोमपाल कामी, ललित भण्डारी र अनिवाश बोहरालाई पेभेलियन फर्काउँदै बिराटनगरको जितको औपचारिकता पुरा गर्नुभयो ।
बिराटनगरका लागि जितेन्द्र मुखिया, किशोर महतो र पुनित मेहराले डेथ ओभरमा उत्कृष्ट बलिङ्ग गर्दै खेलमा वापसी गराउनुभएको थियो । सहाब आलमले चार ओभरमा २६ रन खर्चेर महत्वपूर्ण तीन विकेट लिदै म्यान अफ द् म्याच घोषित हुनुभयो ।
यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको बिराटनगरले सबिन धमलाको उत्कृष्ट ६१ रनको पारीमा उच्च योगफलतर्फ लम्किएको थियो । अर्का ओपनर मोहम्मद जाएद आलमले २० रन बनाएर पेभेलियन फर्किनुअघि धमलासँग ३९ रनको साझेदारी गर्नुभयो । कप्तान प्रदीप ऐरी अन्तिमसम्म ब्याटिङ्ग गर्नुहुँदै बिराटनगरको योगफल पाँच विकेटको क्षतिमा १६५ रनसम्म पुर्याउनुभयो । पुनित मेहरा र लोकेश बलमे सामान १९÷१९ रन बनाउनुभयो । नोमन खान डक आउट हुँदा मिनाश थापा दुई रनमा अविजित रहनुभयो ।
बुटबलका लागि हर्ष टङ्कले दुई तथा ललित भण्डारी र अविनाश बोहराले सामान एक एक विकेट लिनुभयो ।