गोरखापत्र अनलाइन
काठमाडौं, पुस ११ गते । न्युजिल्याण्ड विरुद्धको दोस्रो टेष्ट खेलको पहिलो पारीमा अष्ट्रेलियाले ४६७ रनको औसत योगफल तयार पारेको छ । ट्राभिस हेडले शतक लगाएपछि अष्ट्रेलियाले औसत योगफल तयार गर्न सफल भएको हो ।
जवाबमा शुक्रबार नै पहिलो पारीको सुरुवात गरेको न्युजिल्याण्डले कमजोर प्रदर्शन गरेको छ । न्युजिल्याण्ड पहिलो पारीमा अझै ४२३ रनले पछाडि रहेको छ । उसले दोस्रो दिनको खेल सकिदासम्म मात्र ४४ रन जोड्दा दुई विकेट गुमाइसकेको छ । ओपनर टोम लाथम ९ र रोस टेलर दुई रनको ब्यक्तिगत् योगफलबाट तेस्रो दिनको खेल अगाडि बढाउनेछ । अर्का ओपनर टोम ब्ल्न्डेलले १५ रन बनाएर प्याट् क्युमिन्सको बलिङ्गमा विकेट पछाडि टिम पैनको हातमा क्याच थमाउन पुग्नुभयो । केन विलियम्सन पनि ९ रन बनाउँदा जेम्स प्याटिन्सनको बलमा विकेट पछाडि पैनलाई क्याच थमाए ।
यसअघि मेलबर्नमा टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको अष्ट्रेलियाले एक रनमै जोइ बन्र्सको रुपमा पहिलो विकेट गुमाएर दबाबमा सुरुवात गर्न पुग्यो । अर्का ओपनर देवीड वार्नरले ४१ रनको योगदान दिदा मानर्स लबुस्नेले ६३ तथा स्टिभन स्मिथले ८५ र म्याथ्यु वाडेले ३८ रन बनाएर पेभेलियन फर्किनुभयो । २८४ रनमा पाँच विकेट गुमाएको अष्ट्रेलियालाई औसत योगफलसम्म पुर्याउन टोम हेडले छैठौं विकेटका लागि टिम पैनसित १५० रनको साझेदारी गर्नुभयो । अष्ट्रेलियाले ४६७ रनमा सिमित हुनुअघि हेडले ११४ तथा पैनले ७९ रनको योगदान दिनुभयो ।
न्युजिल्याण्डको बलिङ्गमा नैल वाग्नरले सर्वाधिक चार तथा टिम साऊदीले तीन र कोलिन डे ग्राण्डहमले दुई, ट्रेन्ड बौल्टले एक विकेट लिनुभयो ।