logo
२०८१ मंसिर ८ शनिवार



पोखरा प्रिमियर लिगमा चितवन च्याम्पियन

खेलकुद |


पोखरा प्रिमियर लिगमा चितवन च्याम्पियन


गोरखापत्र अनलाइन
काठमाडौं, पुस १२ गते । चितवन राइनोज पोखरामा सम्पन्न प्रिमियर लिग टी ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । प्रिमियर लिगको दोस्रो संस्करणको उपाधि पारस खडका कप्तान रहेको चितवन राइनोजले हात पारेको हो ।
पोखरा रङ्गशालामा सम्पन्न फाइनल खेलमा चितवनले बिराटनगर टाइटन्सलाई ३२ रनले हराउँदै च्याम्पियन बन्न सफल भयो । जितसँगै च्याम्पियन चितवनले २७ लाख र उपविजेता बिराटनगरले दश लाख रुपियाँसहित ट्रफी पाएको हो ।
चितवनले प्रस्तुत गरेको २०३ रनको विशाल योगफल पछ्याउँदै बिराटनगरले २० ओभर खेलेपनि सात विकेटको क्षतिमा मात्र १७० रन जोडन सक्यो । बिराटनगरले नियमित रुपमा विकेटको पतन रोक्न नसक्दा उसले हार बेहोर्नुपर्यो ।
तेस्रो ओभरमा १६ रनमा दुई विकेट गुमाएको बिराटनगरको पारीमा ओपनर मोहम्मद जाएद आलमले नोमान खानसँग तेस्रो विकेटका लागि ४३ रनको साझेदारी गर्नुभयो । नोमान खान १८ रनमा रन आउट हुँदा ६९ रनमा तेस्रो विकेट गुमाएको बिराटनगरको पारीलाई जाएदले कप्तान प्रदीपसिंह ऐरीसँग चौथो विकेटको लागि ४१ रनको साझेदारी गरेर अगाडि बढाउनुभयो ।
१५ औं ओभरमा बिराटनगरको योगफल ११० रन हुँदा जाएद पनि चितवनका रोहन मुस्तफाको बलमा आउट भएपछि बिराटनगरको उपाधि जित्ने सपना करीब तुहिएको थियो । यद्दपी कप्तान ऐरीले छैठौं विकेटका लागि पुनित मेहरासँग पारीकै सबैभन्दा ठूलो ४७ रनको साझेदारी गरेर जितको आशा देखाउनुभयो । तर मेहरा पनि दबाबमा सन्नी पटेलको बलिङ्गमा विक्रम सोबको हातमा क्याच थमाउनु पुग्नुभयो । आवश्यक रन रेट पछ्याउने क्रममा उहाँले मात्र १३ बलको सामना गर्दै दुइ चौका र तीन छक्काको सहयोगमा ३२ रन बनाएर पेभेलियन फर्किदा बिराटनगरलाई जितको लागि १३ बलमा ४६ रन आवश्यक थियो । जुन असम्भव बनेको थियो । विकेटकीपर ब्याट्सम्यान दिलीप नाथ डक आउट भएपछि कप्तान ऐरी करण केसीको बलिङ्गमा आरिफ शेषलाई क्याच थमाउँदै पेभेलियन फर्किनुभयो । उहाँले २५ बलको सामना गर्दै ३६ रन बनाउनुभयो ।
जितेन्द्र मुखिया सात र पुष्प थापा तीन रनमा अविजित रहे ।
बिराटनगरलाई लक्ष्यसम्म पुग्नबाट रोक्न चितवनका लागि करण केसीले सर्वाधिक तीन तथा सन्नी पटेलले दुई र रोहन मुस्तफाले एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको चितवन राइनोजले बिराटनगर टाइटन्स समक्ष २०३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । ४५ रनमा दुई विकेट गुमाएपनि उत्कृष्ट सुरुवात गरेको चितवनले बिराटनगर समक्ष उच्च योगफलको लक्ष्य प्रस्तुत गर्न सफल भयो । चितवनले पुरै २० ओभर खेलेर पाँच विकेटको क्षतिमा २०२ रनको योगफल तयार गरेको हो ।
चितवनलाई विशाल योगफलसम्म पुर्याउन मध्यक्रममा अनिलकुमार साह र रोहन मुस्तफाले उत्कृष्ट पारी खेल्नुभयो । दुबैजनाले तेस्रो विकेटका लागि ९५ रनको साझेदारी गर्नुभयो । दुबैले मात्र ६३ बलको सामना गर्दै पाँच छक्का र चार चौका लगाउनुभयो ।
लिग चरणमा चल्न नसकेका विकेटकीपर साहले बिराटनगर विरुद्धको फाइनल खेलमा मात्र ३४ बलको सामना गरेर तीन चौका र तीन छक्का लगाउनुभयो । ओपनर मुस्तफाले अद्र्धशतक लगाउन ४३ बल खेल्नुभयो । कप्तान पारस खडकाले मात्र ११ बलको सामना गर्दै २५ रनको योगदान दिनुभयो । पुनित मेहराको १६ औं ओभरमा दुबैजना पेभेलियन फर्किदा चितवनले चार विकेटको क्षतिमा १४२ रन बनाएको थियो । मोहम्मद आरिफ शेषले ११ बलमा दुई छक्काको सहयोगमा १९ रन बनाउनुभयो । आरिफ शेष पेभेलियन फर्किदा चितवनको योगफल १९ औं ओभरमा १७० रन जोडेको थियो । सन्नी पटेलले आठ बलमा १६ रन बनाउँदा करण केसीले ८ बलको सामना गर्नुहुँदै दुई चौका र दुई छक्काको सहयोगमा २६ रन बनाएर अविजित रहनुभयो ।
बिराटनगरका विकेटकीपर दिलीप नाथले विकेट पछाडि राम्रो प्रदर्शन गर्न नसक्दा चितवनले २० रन करीब अतिरिक्त नै पाएको थियो । जाएद आलमको एकै ओभरमा दुईपटक बल मिस गर्दै दिलीपले आठ रन खर्चिनुभयो । बिराटनगरका लागि साहब आलम र पुनित मेहरा अतिरिक्त जितेन्द्र मुखिया, किशोर महतो महँगो साबित भए । मोहम्मद जाएद आलमले चार ओभरमा ३६ रन बनाएर दुई विकेट लिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?