एजेन्सी
काठमाडौं, पुस १३ गते । दक्षिण अफ्रिकाले इंग्ल्याण्ड विरुद्धको पहिलो टेष्ट खेलमा १०७ रनले जितेको छ । नयाँ बलले आक्रमण सुरु गरेको दक्षिण अफ्रिकाले इंग्ल्याण्डका छ जना ब्याट्सम्यानलाई ११ ओभरमै पेभेलियन फर्काएर पहिलो टेष्ट जित्न सफल भयो । दक्षिण अफ्रिकाको छैठौं प्रयास जितमा बदलेको हो ।
पहिलो पारीमा २८४ रनको योगफल तयार गरेको दक्षिण अफ्रिकाले जवाबमा इंग्ल्याण्डलाई १८१ रनमा समेट्दै १०३ रनको महत्वपूर्ण अग्रता लिन सफल भयो । दोस्रो पारीमा २७२ रन बनाउँदै पाहुना टोली इंग्ल्याण्ड समक्ष उसले ३७६ रनको औसत लक्ष्य प्रस्तुत गरेको थियो । जवाबमा इंग्ल्याण्डले ९२ रनमा पहिलो विकेट गुमाएर उत्कृष्ट सुरुवात गर्दै चार विकेटको क्षतिमा २०४ रन जोड्न सफल भयो । जितका लागि मात्र १७२ रन आवश्यक छदा बाँकीको छ विकेट मात्रै ६४ रन जोडेर २६८ मा समेटिन पुग्दा दक्षिण अफ्रिकाको जित सम्भव भएको हो । अफ्रिकालाई जित दिलाउन कगिसो रबाडाले सर्वाधिक चार तथा एन्रिक नोर्जेले तीन, केशव महाराजले दुई र ड्वायन प्रिटोरियसले एक विकेट लिनुभयो ।
यसअघि सेन्चुरियनमा टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको घरेलु टोली दक्षिण अफ्रिकाले क्विन्टन डे ककको ९५ तथा जुबैर हाम्जाको ३९ रनको सहयोगमा २८४ रनको योगफल तयार गरेको थियो । इंग्ल्याण्डका लागि स्टुअर्ट ब्रोड र साम कर्रनले सर्वाधिक चार विकेट लिँदा जोफ्रा आर्चर र जेम्स एन्डरसनले एक एक विकेट लिनुभयो ।
जवाबमा १५ रनमै दुई विकेट गुमाएको इंग्ल्याण्डले जोय डेन्लीको अद्र्धशतकमा १८१ रन बनाएर समेटिन पुग्यो । इंग्ल्याण्डलाई सस्तोमा समेटन वर्णोन फिलन्डरले सर्वाधिक चार तथा कगिसो रबाडाले तीन र एन्रिक नोर्जेले दुई र ड्वायन प्रिटोरियसले एक विकेट लिनुभयो ।
पहिलो पारीमा १०३ रनको महत्वपूर्ण बढ्त पाएको दक्षिण अफ्रिकाले रस्सी भान डर दुस्सैनको अद्र्धशतक तथा वर्णोन फिलन्डरको ४६ र एन्रिक नोर्जेको ४० रनको सहयोगमा २७२ रनको योगफल तयार गर्दै इंग्ल्याण्ड समक्ष ३७६ रनको लक्ष्य प्रस्तुत गर्यो । इंग्ल्याण्डका लागि जोफ्रा आर्चरले सर्वाधिक पाँच विकेट लिनुभयो ।
खेलको म्यान अफ द् म्याच क्विन्टन डे कक घोषित हुनुभयो ।