एजेन्सी
काठमाडौं, पुस १४ गते । प्रिमियर लिगमा १३ अङ्कको स्पष्ट अग्रतासँगै लिभरपुलले वर्षको अन्त्य गरेको छ । वर्षको अन्तिम खेलमा उसले वल्भरहैम्पटन वान्डरर्समाथि १–० को जित हात पार्यो ।
लिभरपुलका लागि साडिओ मानेले पहिलो हाफमा गोल गर्नुहुँदै दिलाउनुभएको अग्रता नै खेलको निर्णायक गोल रहन गयो । उहाँले खेलको ४२ औं मिनेटमा गोल गर्नुभयो । लिभरपुलले अग्रता दोब्बर पार्ने अवसर पाएपनि वल्भ्स चनाखो हुँदा उसले १–० मै चित्त बुझाउनुपर्यो । लिभरपुलका लागि मोहम्मद सलह र रोबर्टो फिरमिनोले दोस्रो हाफमा गोलका लागि गर्नुभएको प्रयास विफल भएको थियो ।
दोस्रो हाफमा वल्भ्सका लागि डिओगो जोटाले दुई पटक गोल गर्ने ठूलो अवसर पाउनुभयो । तर पहिलो प्रहार गोलपोष्टभन्दा ‘वाइड’ भएर बाहिरिन पुग्दा दोस्रो प्रहार लिभरपुलका गोलकिपर अलिस्सनले समाउन पुग्नुभयो । लिभरपुल ३० वर्षमा पहिलोपटक उपाधि जित्ने दाबीसहित प्रशंसकको रोजाइको टोली बनेको छ । उता वल्भ्स भने एन्फिल्डमा हार बेहोरेपनि २०१९ मा उसले उत्कृष्ट लयलाई निरन्तरता दिन पुग्यो ।
आइतबार राति नै सम्पन्न अन्य खेलहरुमा आर्सनलले चेल्सीसँग १–२ ले हार बेहोर्नुपर्यो । म्यान्चेष्टर सिटिले शेफ यूनाइटेडमाथि २–० को जित हात पार्यो । यसअघि वल्भ्स विरुद्ध हार बेहोरेको म्यान्चेष्टर सिटिले शेफिल्ड यूनाइटेड विरुद्ध जित हात पार्दै वापसी गरेको हो ।