गोरखापत्र अनलाइन
काठमाडौं, पुस १४ गते । खेलको अन्तिम मिनेटमा गोल गर्दै सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र युवा क्लबले न्युरोड टिममाथि जित हात पारेको छ । मच्छिन्द्रको जितमा नाइजेरियाली खेलाडी आडेलाजा सोमिडेले गर्नुभएको एक मात्र गोल निर्णायक हुन गयो ।
एन्फा कम्प्लेकस सातदोबाटोमा सम्पन्न खेलमा मच्छिन्द्रले न्युरोड टिममाथि १–० को जित हात पारेको हो । मच्छिन्द्रका लागि सोमिडेले ९० औं मिनेटमा गोल गर्नुभयो । दोस्रो हाफको अन्त्यतिर पाएको दुई उत्कृष्ट अवसरलाई मच्छिन्द्रका विदेशी खेलाडीले गोलमा परिणत गर्न असफल भएका थिए । तेस्रो प्रयासमा विजय धिमालको क्रसमा हेडरमार्फत् सोमिडेको प्रहार गोलमा परिणत भयो ।
लगत्तै न्युरोड टिमले गोलको लागि पाएको अवसर सदुपयोग गर्न सकेनन । र महत्वपूर्ण तीन अङ्क गुमाउन पुग्यो ।
जितसँगै मच्छिन्द्रले चार खेलबाट ९ अङ्क जोडेको छ । उसले तीन खेलमा जित र एकमा हार बेहोरेको हो ।