गोरखापत्र अनलाइन
काठमाडौं, पुस १६ गते । सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले थ्री स्टारलाई पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा आर्मीले थ्री स्टारमाथि २–० को जित हात पारेको हो ।
आर्मीका लागि नवयुग श्रेष्ठ र सन्तोष तामाङले गोल गर्नुभयो । खेलको पहिलो मिनेटमा नै नवयुग श्रेष्ठको पासमा कप्तान भरत खवासको प्रहार गोलरक्षक प्रिसोले बचाउनुभयो । १७ औं र १८ औं मिनेटमा सन्तोष तामाङ र जर्जप्रिन्स कार्कीको प्रहार दिशा लिन नसक्दा आर्मीले सुरुदेखि नै अग्रता लिन गरेको प्रयास विफल भएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएपछि दोस्रो हाफको सुरुवातमै नवयुग श्रेष्ठले पेनाल्टी क्षेत्र भित्रबाट गर्नुभएको प्रहार गोलमा परिणत भयो । खेलको ५४ औं मिनेटमा भरत खवासले गर्नुभएको क्रसलाई नवयुगले थ्री स्टारको गोल पोष्टमा पठाउनुभयो ।
६१ औं मिनेटमा मिक्चेन तामाङको पेनाल्टी बक्स बाहिरको फ्रिकिक प्रहार बाहिरिदा थ्री स्टारले बराबरी गर्नबाट चुक्यो । ७९ औं मिनेटमा सन्तोष तामाङले गोल गर्नुहुँदै आर्मीको अग्रतालाई दोब्बर पार्नुभयो । उहाँले २५ यार्डबाट गर्नुभएको प्रहार गोलमा परिणत हुँदा आर्मीले २–० को अग्रता लियो ।
इन्ज्युरी समयको पहिलो मिनेटमा विकास तामाङले पेनाल्टी क्षेत्रभित्र हयाण्ड गरेपछि थ्री स्टारले पेनाल्टीको अवसर पायो । तर रुपेश केसीको पेनाल्टी प्रहारलाई गोलरक्षक विकेश कुथुले बचाएपछि थ्री स्टारले शान्त्वना गोल समेत गर्न सकेनन । र आर्मीले २–० को जित हात पार्न सफल भयो ।
आर्मीले चार खेलमध्ये तीनमा जित हात पार्दै ९ अङ्क जोडेको छ । थ्री स्टारले भने चार खेलमध्ये दुईमा जित, एक बराबरी र एक हारसहित सात अङ्कमा चित्त बुझाएको छ ।