एजेन्सी
काठमाडौं, पुस १८ गते । इंग्ल्याण्डका तिब्र गतिका बलर जोफ्रा आर्चर दक्षिण अफ्रिका विरुद्धको दोस्रो टेष्ट म्याच गुमाउने सम्भावना बढेको छ । दक्षिण अफ्रिकाले जितेको पहिलो टेष्ट म्याचमा इंग्ल्याण्डका जोफ्राले छ विकेट लिनुभएको थियो ।
कुहिनामा चोट लागेपछि जोफ्रा आर्चर खेल्ने सम्भावना कम रहेको बताइएको छ । उहाँले बुधबार अभ्यासको क्रममा मात्र पाँच बल फालेर फर्किनुभएको थियो । दोस्रो टेष्ट म्याच केपटाउनमा शुक्रबारबाट सुरु हुँदैछ । सेन्चुरियनमा सम्पन्न पहिलो टेष्ट खेलमा देखिएको घाँस केपटाउनको पिचमा देखिन्न । जसले गर्दा इंग्ल्याण्डले अन्तिम एघारमा स्पिनरलाई प्राथमिकता दिनेछ । बुधबार अभ्यासमा सहभागी हुनुभएका ज्याक लीचलाई उछिनेर समरसेटका अफस्पिनर डोम बेसले स्थान पाउने देखिएको छ ।
जोफ्रा आर्चर फिट नभएको अवस्थामा इंग्ल्याण्डलाई निर्णय लिन सहज हुनेछ । तर उसले उत्कृष्ट लयमा रहनुभएका जोफ्रा आर्चर समयमै फिट हुने अपेक्षा राखेको छ तर सम्भव देखिन्न । आर्चर फर्किने अवस्थामा जेम्स एन्डरसन र क्रिस बोर्डमध्ये एकजना बाहिरिनुपर्नेछ ।