एजेन्सी
काठमाडौं, पुस १७ गते । अष्ट्रेलिया र न्युजिल्याण्डका क्रिकेट खेलाडीले डढेलोबाट प्रभावितहरुप्रति शोक व्यक्त गर्ने भएका छन् । अष्ट्रेलिया र न्युजिल्याण्डले सिड्नीमा भेटदा दुबै देशका खेलाडीले रङ्गशालामा हातमा कालो पट्टी बाँध्नेछन् ।
अष्ट्रेलियामा करीब एक महिनादेखि लागेको डढेलोको प्रकोपले कम्तिमा १८ जनाको मृत्यु भइसकेको छ । खेल सुरु हुनुअघि डढेलो नियन्त्रणमा रहेका अग्नि नियन्त्रकको सम्मानमा खेलाडीले एक मिनेट मौन बस्नेछन् । अष्ट्रेलिया क्रिकेट टोलीका प्रशिक्षक जस्टिन लैंगर र कप्तान टिम पैनले जारी गर्नुभएको संयुक्त सन्देशमा भनिएको छ, “हामीले स्थिति सुधार, डढेलो नियन्त्रण र पानी छिट्टै परोस आशा लिएर प्रार्थना गर्नेछौं ।”
अष्ट्रेलियन क्रिकेट बोर्डले राहत तथा उद्धारका लागि कोष जमा गर्न दुई टोलीबीच मार्च महिनामा सिड्नीमा अन्तर्राष्ट्रिय एकदिवसिय खेल पनि हुने जनाएको छ ।
अष्ट्रेलियाले तीन म्याचको टेष्ट श्रृखंलामा २–० को अग्रता लिएको छ । क्रिकेट रङ्गशालामा डढेलोबाट उत्पन्न धुवाँले प्रभावित गरे अम्पायरले खेल रद्द गर्ने निर्णय लिन सक्नेछन् । वर्षाले खेल प्रभावित भएको खण्डमा रद्द गर्न सक्ने व्यवस्था भए जसरी नै धुवाँ आएको खण्डमा समेत निर्णय लिन सकिने जनाइएको छ । क्रिकेट अष्ट्रेलियाका अपरेशन प्रमुख पिटर रोचले भने धुवाँ छिट्टै आउने र छिट्टै विलय हुने हुनाले खेल नै रद्द गर्न हेरैर निर्णयमा पुग्नुपर्ने बताउनुभयो ।