एजेन्सी
काठमाडौं, पुस १९ गते । अष्ट्रेलियामा जारी बिग बैश लिगको २२ औं खेलमा सन्दीप लामिछानेले मेलबर्न स्टार्सका लागि उत्कृष्ट प्रदर्शन गर्नुभएको छ । उहाँले चार ओभरमा मात्र २६ रन खर्चेर महत्वपूर्ण तीन विकेट लिनुभयो ।
मेलबर्नका बलरले उत्कृष्ट प्रदर्शन गरेको खेलमा मेलबर्न रेनिगेड्स ९ विकेटको क्षतिमा मात्र १४२ रन जोडन सक्यो ।
टस हारेर ब्याटिङ्ग गर्ने निम्ता पाएका मेलबर्न रेनिगेड्सले राम्रो सुरुवात गर्दै छैठौं ओभरमा ४१ रनमा मात्र एक विकेट गुमाउँदा सन्दीप लामिछानेलाई बलिङ्गको जिम्मेवारी दिइयो । कप्तान ग्लैन म्याक्सवेलले लामिछाने र अष्ट्रेलियाका स्पिनर एडम जाम्पालाई बलिङ्गको जिम्मेवारी दिनुभयो । लामिछानेले आफ्नो पहिलो ओभरमा सात रन खर्चिदा विकेट हात पार्न सक्नुभएन ।
अर्का स्पिनर एडम जाम्पाले आफ्नो पहिलो ओभरमै कप्तान आरोन फिञ्चलाई २५ रनमा पेभेलियन फर्काएपछि दबाब लामिछानेमाथि परेको थियो । दोस्रो ओभरमा पनि लामिछाने विकेटविहीन बन्न पुग्नुभयो । उहाँले दोस्रो ओभरमा १२ रन खर्चिनुभयो ।
तर तेस्रो ओभरमा सन्दीपले उत्कृष्ट वापसी गर्दैै क्रिजमा जमेका ब्याट्सम्यान शौन मार्सलाई पेभेलियन फर्काउनुभयो । मार्स ३३ बलमा ४३ रन बनाएर ब्याटिङ्ग गरिरहँदा लामिछानेको तेस्रो बलमा लामो शट लगाउने क्रममा कुल्टर नाइलको हात क्याच थमाउन पुग्नुभयो । चौथो बल डट गराउनुभएका सन्दीपले पाँचौं बलमा डेनियल क्रिश्चियनलाई डक आउट गर्नुभयो ।
चौथो ओभरमा पहिलो तीन बलमा तीन रन खर्चिनुभएका लामिछानेले बाँकीको तीन मध्ये दुई बल डट दिदा अन्तिम बलमा टोम कुपरलाई एल बी डब्ल्युको धरापमा पार्नुभयो ।
एडम जाम्पाले दुई तथा डेल स्टैनले दुई विकेट लिनुभयो । अङ्कतालिकाको शिर्ष स्थानमा रहेको मेलबर्न स्टार्स लिगको आफ्नो छैठौं म्याचमा रेनिगेड्सको सामना गर्दैछ ।