logo
२०८१ मंसिर ८ शनिवार



हयाण्ड बलमा समर्पित सन्देश

खेलकुद |


हयाण्ड बलमा समर्पित सन्देश


इश्वरचन्द्र झा


तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)को महिला हयाण्डबल विधामा नेपालले रजत पदक हात पार्दा हयाण्ड बलका पूर्व खेलाडी एवम् गोलकीपर सन्देशकुमार रेग्मीका लागि स्मरणीय रह्यो । हयाण्ड बलमा नेपालले पाएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धी हो । हयाण्ड बलमा रेग्मीको करीब चार दशकको यात्रा अझै जारी छ । रेग्मीले चार दशकअघि लहलहैमा लागेर बिरगञ्जबाट हयाण्ड बल खेल्न सुरु गर्नुभयो । सेवा निवृत्त प्रहरी वरिष्ठ उपरिक्षक रमेश खरेल हयाण्ड बलमा रेग्मीका सह खेलाडी हुनुहुन्छ । रुसदेखि हङ्गकङ्गसम्म रेग्मी र खरेलले सँगसँगै अन्तर्राष्ट्रिय स्पर्धामा सहभागिता जनाउनुभयो ।
करीब २५ वर्षसम्म उहाँ राष्ट्रिय टोलीको गोलकीपरको जिम्मेवारीमा बस्नुभयो । गोलकीपरमा उहाँको विकल्प थिएन । अन्तर्राष्ट्रिय स्पर्धामा पनि चार नं जर्सी लगाउने खेलाडीको रुपमा रेग्मी चर्चित हुनुहुन्थ्यो । उहाँले उत्कृष्ट कीपरकै रुपमा हयाण्ड बलमा आफूलाई परिचित र स्थापित गराउनुभयो ।
उमेरले सकुञ्जेल २०१० मा ढाकामा सम्पन्न एघारौं सागसम्म गोलकीपरकै जिम्मेवारीमा उहाँ बस्नुभयो । दक्षिण एसियाली खेलकुदमा पहिलोपटक हयाण्ड बल ढाका सागमै समावेश गरिएको हो । जतिबेला रेग्मीको उमेर करीब ४५ वर्ष थियो ।
एघारौं सागमा हयाण्ड बल पुरुष विधामा नेपालले तेस्रो स्थानको लागि बङ्गलादेशसँग स्पर्धा गरेको थियो । जसमा ४२–११ ले पराजित भई चौथो स्थानमा चित्त बुझायो ।
एघारौं सागपछि पनि उहाँले तीनवर्षसम्म राष्ट्रिय टोलीको गोलकीपर भएर अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी हुनुभयो । उमेरले ५० लागेपनि फिटनेसले उहाँलाई कहिले चुनौती र चिन्ता थपेन । बरु आफ्नै टोलीका सह खेलाडीले “बुवाको उमेरको हुनुहुन्छ” भनेर टिप्पणी गर्दा उहाँलाई रमाइलो लाग्थ्यो । रेग्मी भन्नुहुन्छ, “यस्ता टिप्पणी गर्ने खेलाडीले फिटनेशलाई प्रशंसा गर्थे ।”
हाल उहाँ नेपाल हयाण्डबल संघका महासचिव हुनुहुन्छ ।
वि.सं. २०३८ सालमा रेग्मीले खेलाडी भएर हयाण्ड बल खेलको सुरुवात गर्नुभयो । त्यत्तिबेला उहाँ मात्र १५ वर्षको हुनुहुन्थ्यो । खेलाडी भएपछि देश परदेश घुम्न पाउने सोच लिएर लहलहैमा हयाण्ड बलमा लाग्नुभएका रेग्मीले रुस, स्वीडन, चीन, बङ्गलादेशसहित करीब एकदर्जन बढी राष्ट्रमा नेपालको प्रतिनिधित्व गरेर खेल्नुभएको छ । खेल सुरु गरेको अर्को वर्षमै नेपाली हयाण्ड बल टोलीले बङ्गलादेश विरुद्धको मैत्रीपूर्ण खेल जित्यो । विदेशी प्रशिक्षकले प्रशिक्षण दिदा अत्याधिक समय प्रशिक्षणमा खर्च गर्ने रेग्मीलाई २०४१ सालमै ब्रिटिश प्रशिक्षकले गोलकीपरका लागि सबैभन्दा उपयुक्त खेलाडी रहेको भन्दै प्रशंसा गर्दा हयाण्ड बलमा लाग्न थप ऊर्जा पाउनुभयो ।
चार शहरमा मैत्रीपूर्ण हयाण्ड बल खेल्न नेपाली टोली भारत प्रस्थान गर्ने तालिका थियो । रेग्मी त्यसताकाका अनुभव सुनाउनुहुन्छ, “भ्रमणको पूर्वसन्ध्यामा ब्रिटिश प्रशिक्षक पोल ब्रेले कीपरकै रुपमा खेल्न सुझाएपछि टोलीले ममाथि निर्भरता बढायो ।”
नेपालले त्यसताका रुस, जोर्डन, हङ्गकङ्ग, बङ्गलादेश, भारत, पाकिस्तान लगायतको राष्ट्रमा नियमित मैत्रीपूर्ण प्रतियोगिता खेल्दै आएको थियो । सन् १९८० को दशकमा तीन पटक हङ्गकङ्गसँग मैत्रीपूर्ण प्रतियोगिता नेपाली हयाण्ड बल टोलीले खेलेको थियो । पहिलो दुईमा हार बेहोरेको नेपालले सन् १९९० मा तेस्रो प्रयासमा मात्रै हङ्गकङ्गलाई जित्न सफल भयो । रेग्मी भन्नुहुन्छ, “करीब एक दशकको प्रयासपछि पहिलो पटक नेपालले विदेशी भूमीमा उपाधि उचाल्न सफल भयो ।”
पठनपाठनमा कठीनाइ
शैक्षिक तालिका र कार्यक्रम हेरेर खेलकुदमा वार्षिक तालिका तयार गर्दैन् । त्यस्तो अभ्यास विश्वको कुनै कुनामा देखिन्न, भेटिन्न । तसर्थ खेलाडीले कुनै पढाइ वा खेलकुदमध्ये कुनै एक रोज्नुपर्ने हुन्छ । तर पठनपाठनसँगै खेलकुदमा पनि अब्बल स्थान ल्याउने थोरै मात्रै हुन्छन् । रेग्मी भन्नुहुन्छ, “पढाइमा औसत हुँदाहुँदै खेलकुदलाई प्राथमिकता दिदा स्नातकोत्तरसम्म पुग्न दशवर्ष लाग्यो ।” उहाँ आफ्ना सहखेलाडी बारे थप्नुहुन्छ, “खेलमा अब्बल रहेका उज्वल ताम्राकार पठनपाठनमा समेत उत्कृष्ट थिए ।”
वि.सं. २०३९ मा प्रवेशिका परीक्षाको बेला १६ लागेका रेग्मीले २०४९ मा मात्रै स्नातकोत्तर पहिलो वर्षमा भर्ना हुन पाउनुभयो । यद्दपी शैक्षिक योग्यताले खेलाडीको प्रदर्शनमा प्रभाव नपार्ने उहाँ बताउनुहुन्छ ।
खेलकुदमै लागेर आयआर्जन
खेलकुदमै जीवन समपर्ण गर्नेलाई हातमुख जोर्नेसम्मको समस्याले कतिपय खेलाडी विदेश पलायन हुन बाध्य भएका छन् । तेह्रौं सागको पूर्वसन्ध्यामा मात्रै कतिपय खेलाडी विदेश हानिए । रेग्मीका अनुसार सागको समय निर्धारण भएपछि हयाण्ड बलकै खेलाडी पनि विदेश पुगे । तर खेलकुदले व्यवसायिक रुप लिइरहँदा अब्बल खेलाडीलाई हात मुख जोर्ने समस्या नहुने उहाँको अनुभव छ ।
“हयाण्ड बल चर्चित खेल पनि होइन, यद्दपी विद्यालय, व्यवसायिक टोलीको प्रशिक्षक भएर जिवन ब्यतित गर्दा हात मुख जोर्ने समस्या भएको छैन् ।”
सागमा नेपालले ५१ स्वर्ण जितेकोमा समग्र विधामा नेपाली महिलाको उपलब्धी भने ऐतिहासिक रह्यो । भलिबल, हयाण्ड बल लगायतको विधामा नेपालले सशक्त प्रतिद्वन्दी भारतसँग हार बेहोरेपनि चुनौती दिन भने सफल रह्यो । हयाण्ड बलमा रेग्मी गोलरक्षकलाई प्रशिक्षण दिने जिम्मेवारी समेत निर्वाह गर्नुभएको छ । रेग्मी, सागको प्रदर्शनले दक्षिण एसियाली खेलकुदमा महिला हयाण्डबल विधा अझै सशक्त हुने दृढ हुनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?