एजेन्सी
काठमाडौं, पुस २० गते । म्यान्चेष्टर सिटी र लेष्टर सिटी एफ ए कपको चौथो चरणमा प्रवेश गरेको छ । शनिबार राति सम्पन्न खेलमा सिटीले चौथो डिभिजनको क्लब पोर्ट भेलमाथि ४–१ को फराकिलो जित निकाल्दै चौथो चरणमा पुग्न सफल भएको हो ।
सिटिको जितमा अलेक्साण्डर जिन्चेन्को, सर्जिओ अगुइरो, हारवुड वेलिस र फि फोडेनले गोल गरे । इत्तिहाद रङ्गशालामा सम्पन्न खेलको १९ औं मिनेटमा अलेक्साण्डर जिन्चेन्कोको गोलबाट सिटीले अग्रता लिन सफल भयो । ३५ औं मिनेटमा टोम पोपेले गोल फर्काउदा पोर्ट भेल खेलमा वापसी गरेको थियो ।
४२ औं मिनेटमा सर्जिओ अगुइरोले गोल गर्दा सिटीले खेलमा २–१ को अग्रता लियो । हारवुडले ५८ औं मिनेटमा गोल गर्दा सिटीले अग्रतालाई ३–१ बनायो । ७६ औं मिनेटमा फि फोडेनले गोल थप्दा सिटी ४–१ को फराकिलो अन्तरको जित हात पार्न सफल भयो ।