एजेन्सी
काठमाडौं, पुस २१ गते । अष्ट्रेलियाले न्युजिल्याण्ड विरुद्धको तीन म्याचको टेष्ट श्रृखंला ‘व्हाइट वाश’ गरेको छ । पहिलो तथा दोस्रो टेष्ट खेल जितेर तीन म्याचको श्रृखंलामा २–० को अग्रता लिएको अष्ट्रेलियाले तेस्रो टेष्टमा पनि जित हात पारेको हो ।
तेस्रो तथा अन्तिम टेष्ट खेलमा उसले पाहुना टोली न्युजिल्याण्ड समक्ष ४१६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाबमा न्युजिल्याण्ड टोली खेलको चौथो दिन मात्र १३६ रनमा समेटिन पुग्दा उसले भारी अन्तरको हार बेहोर्न बाध्य हुँदै शान्त्वना जित समेत हासिल गर्न सकेनन । न्युजिल्याण्डको दोस्रोपारीमा कोलीन डे ग्राण्डहमले बनाउनुभएको ५२ रन नै सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो । रोस टेलर, टोम लाथम, जेम्स वाटलिङ्ग लगायतका सिनियर खेलाडीले श्रृखंलाको तीनै खेलमा निराशाजनक प्रदर्शन गर्नुभयो ।
अष्ट्रेलियाका लागि नाथन लियोनले सर्वाधिक पाँच विकेट लिनुभयो । मिसेल स्टार्कले तीन तथा प्याट्ट क्युमिन्सले एक विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको अष्ट्रेलियाले मार्नस लबुस्नेको पहिलो दोहोरा शतकको सहयोगमा पहिलो पारीमा ४५४ रनको उच्च योगफल तयार गरेको थियो । उहाँले २१५ रन बनाउनुभयो ।
न्युजिल्याण्डका लागि कोलीन डे ग्राण्डहम र नैल वाग्नरले सामान तीन तीन तथा टोड आश्ले र म्याट हेनरी एवम् विलियम समरभिलले सामान एक एक विकेट लिनुभयो ।
जवाबमा न्युजिल्याण्डले आफ्नो पहिलो पारीमा २५६ रनमा समेटिदा अष्ट्रेलियाले पहिलो पारीमा १९८ रनको अग्रता लिएको थियो । अष्ट्रेलियाले दुई विकेटको क्षतिमा मात्र २१७ रनमा पारी घोषणा गर्दै न्युजिल्याण्ड समक्ष ४१६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । अष्ट्रेलियाका लागि देवीड वार्नरले अविजित १११ र मार्नस लबुस्नेले ५९ रनको योगदान दिनुभयो ।
खेलको म्यान अफ द् म्याच र म्यान अफ द् सेरिज लबुस्ने घोषित हुनुभयो ।