एजेन्सी
काठमाडौं, पुस २३ गते । भारतले दोस्रो टी ट्वान्टी खेलमा श्रीलङ्कालाई सात विकेटले हराएको छ । जितसँगै तीन म्याचको टी ट्वान्टी श्रृखंलामा भारतले १–० को अग्रता लिएको छ । पहिलो टी ट्वान्टी खेल वर्षाले प्रभावित हुँदा रद्द हुन पुग्यो ।
श्रीलङ्काले प्रस्तुत गरेको १४३ रनको लक्ष्य भारतले मात्र तीन विकेटको क्षतिमा १५ बल बाँकी छदै १४४ रन बनाएर पुरा गर्यो । भारतीय ओपनरद्वय लोकेश राहुल र शिखर धवनले पहिलो विकेटको लागि ७१ रनको साझेदारी गर्दा भारतले सहजै जित हात पार्न सफल भयो । राहुलले ३२ बलमा ४५ रनको योगदान दिदा धवनले २९ बलमा ३२ रन जोड्नुभयो । श्रेयास ऐयरले ३४ तथा कप्तान विराट कोहलीले अविजित रहँदै ३० रनको योगदान दिनुभयो । उहाँले १७ बलमा दुई छक्का र एक चौका लगाउनुभयो । श्रीलङ्काली बलरहरुमा वनिन्डु हसरङ्गाले दुई तथा लहिरु कुमाराले एक विकेट लिनुभयो । कप्तान लासिथ मलिंगा भने महँगो साबित हुनुभयो । उहाँले चार ओभरमा ४१ रन खर्चेपनि विकेटविहीन बन्न पुग्नुभयो ।
यसअघि इन्दौरमा टस हारेर पहिला फिल्डिङ्ग गर्ने निम्ता पाएको पाहुना टोलीले २० ओभरमा ९ विकेटको क्षतिमा १४२ रन बनाएको थियो । उसको पारीमा कुशल परेराले सर्वाधिक ३४ रन बनाउनुभयो । अविष्का फर्नान्डोले २२ तथा धनुष्का गुनातिलकाले २० रनको योगदान दिनुभयो । भारतीय बलरहरुमा श्रद्धुल ठाकुरले सर्वाधिक तीन तथा नवदीप सैनी र कुलदीप यादबले सामान दुई दुई विकेट लिनुभयो । वाशिंगटन सुन्दर र जसप्रित बुमराहले एक एक विकेट लिनुभयो ।
नवदीप सैनी खेलको म्यान अफ द् म्याच घोषित हुनुभयो ।