एजेन्सी
काठमाडौं, पुस २३ गते । इंग्ल्याण्डले दक्षिण अफ्रिका विरुद्धको दोस्रो टेष्ट खेल १८९ रनले जितेको छ । इंग्ल्याण्डले प्रस्तुत गरेको ४३८ रनको लक्ष्य पछ्याउँदै दक्षिण अफ्रिका २४८ रनमा सिमित हुन पुग्यो ।
दक्षिण अफ्रिकालाई सस्तोमा समेटन पाँचौं तथा अन्तिम दिनको अन्तिम सत्रमा बेन स्टोक्सले लगालग तीन विकेट लिनुभयो । ओपनर ब्याट्सम्यान पिटर मलानले सर्वाधिक ८४ रनको योगदान दिएपछि जित टार्न सक्नुभएन । क्विन्टन डे ककले ५० रन बनाउनुभयो । ओपनर डीन एल्गरसहित मध्यक्रमका जुबैर हाम्जा, केशव महाराज, कप्तान फाफ डु प्लेसिस, भान डर दुस्सैनले संयमित पारी खेल्न नसक्दा उसले हार बेहोर्नुपर्यो ।
जेम्स एन्डरसनले र जोय डेन्लीले सामान दुई दुई विकेट लिनुभयो । स्टुअर्ट ब्रोड, डोमिनिक बेस र सैम कर्रनले सामान एक एक विकेट लिनुभयो ।
यसअघि केपटाउनमा टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको इंग्ल्याण्डले आफ्नो पहिलो पारीमा २६९ रन बनाएको थियो । ओली पोपले अविजित रहँदै ६१ रनको योगदान दिनुभयो ।
अफ्रिकी बलरहरुमा कगिसो रबाडाले तीन तथा वर्णोन फिलन्डर, डेनियल प्रिटोरियस र एन्रीक नोर्जेले सामान दुई दुई विकेट लिनुभयो । केशव महाराजले एक विकेट लिनुभयो ।
दक्षिण अफ्रिकाका लागि डीन एल्गरले सर्वाधिक ८८ तथा भान डर दुस्सैनले ६८ रनको योगदान दिदा उसले पहिलो पारीमा २२३ रन बनायो । यद्दपी ऊ इंग्ल्याण्डबाट पहिलो पारीमा ४६ रनले पछाडि पर्यो । इंग्ल्याण्डलाई महत्वपूर्ण बढत दिलाउन जेम्स एन्डरसनले सर्वाधिक पाँच विकेट लिनुभयो । जवाबमा इंग्ल्याण्डले आफ्नो दोस्रो पारी आठ विकेटको क्षतिमा ३९१ रनमा घोषणा गर्दै घरेलु टोली समक्ष ४३८ रनको लक्ष्य प्रस्तुत गर्यो । इंग्ल्याण्डका लागि डोम सिब्लीले अविजित रहँदै १३३ रनको योगदान दिदा जोय रुटले ६१ तथा बेन्न स्टक्सले ७२ रन बनाउनुभयो ।
तीन म्याचको टेष्ट श्रृखंला १–१ को बराबरीमा पुगेको छ । तेस्रो टेष्ट खेल पोर्ट एलिजाबेथमा बिहीबारबाट सुरु हुनेछ ।