एजेन्सी
काठमाडौं, पुस २४ गते । टोनी क्रूजले गोल गरेपछि रियल मड्रिड स्पैनिस सुपर कपको फाइनलमा पुगेको छ । उसले भ्यालेन्सियालाई ३–१ ले हरायो ।
सऊदी अरेबियामा सम्पन्न खेलमा रियल मड्रिडका लागि टोनी क्रूजले सुरुवाती गोल गरेर १–० को अग्रता दिलाउनुभयो । इस्कोले गोल अग्रतालाई दोब्बर पार्नुभयो । लुका मोड्रिकले थप गोल प्रहार गर्दै भ्यालेन्सियाले खाता खोल्न नपाउँदै रियल मड्रिडले ३–० को अग्रता कायम गर्यो ।
डेनियल परेजोले खेलको अन्त्यतिर पेनाल्टी बक्सबाट गर्नुभएको प्रहार गोलमा परिणत भएपछि भ्यालेन्सियाले शान्त्वना गोल फर्कायो । सर्जिओ रामोसले हयाण्ड गर्दा भ्यालेन्सियाले पेनाल्टीको अवसर पाएको थियो । यद्दपी उहाँले गर्नुभएको हयाण्ड भने आकस्मिक देखिएको थियो । शान्त्वना गोल गरेपनि भ्यालेन्सियाले ३–१ को हार टार्न सकेनन ।
अर्को सेमीफाइनल खेलमा बिहीबार बार्सिलोनाले एटलेटिको मड्रिडको सामना गर्नेछ । दुबै टोलीबीचको विजेताले स्पैनिस सुपर कपको उपाधिको लागि भिड्नेछन् । उपाधिको खेल भने आइतबारका लागि तय गरिएको छ ।
स्पैनिस सुपर कपको यस सिजनदेखि नयाँ स्वरुपमा हुँदैछ । ला लिगाका शिर्ष दुई टोली र कोपा डेल रेको उपाधिको होडका लागि भिड्ने दुई टोली गरी चार टोलीले स्पैनिस सुपर कप खेल्ने स्वरुप निर्धारण गरिएको छ । यसअघि भने ला लिगा र कोपा डेल रेको विजेताबीच स्पैनिस सुपर कपको उपाधिको लागि स्पर्धा हुँदै आएको थियो ।
रियल मड्रिड ला लिगामा तेस्रो स्थानमा चित्त बुझाएको थियो । बार्सिलोना ला लिगा र कोपा डेल रेको उपविजेता बन्दा रियल मड्रिड स्पैनिस सुपर कप खेल्ने अवसर पाएको हो । गोल अन्तरको आधारमा ला लिगामा दोस्रो स्थानमा रहेको जिनेदिन जिदानको रियल मड्रिडले खेलको सुरुदेखि नै वर्चश्व कायम गरेको थियो । इस्कोको हेडर र लुका जोभिकको रिबाउण्ड भ्यालेन्सियाका कीपर डोमिनिकले रोक्न नसकेको भए रियल मड्रिडको गोल अन्तर अझै फराकिलो हुने थियो ।