काठमाडौं, पुस २४ गते । सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले एपीएफलाई पराजित गरेको छ । संकटाले एपीएफमाथि ४–२ को जित हात पारेको हो ।
दशरथ रङ्गशालामा बिहबिार सम्पन्न खेलमा संकटाका लागि अजयी मार्टिन्सले दुई तथा लक्ष्मण रुचाल र कर्ण लिम्बुले एक एक गोल गर्नुभयो । एपीएफका लागि नवीन लामा र आशिष लामाले एक एक गोल गर्नुभयो । संकटाले एपीएफमाथि खेलको पहिलो हाफमा २–० को अग्रता लिएको थियो । लक्ष्मण रुचालले १९ औं मिनेटमा गर्नुभएको गोलबाट संकटाले खेलमा अग्रता लिएको थियो । ४४ औं मिनेटमा कर्ण लिम्बुले उक्त अन्तरलाई दोब्बर पार्नुहुँदै खेल २–० को स्थितिमा पुर्याउनुभयो ।
पहिलो हाफमा २–० ले पछाडि परेको एपीएफले दोस्रो हाफमा मात्रै वापसी गर्न भ्यायो । यद्दपी दोस्रो हाफमा समेत संकटाले ५३ औं मिनेटमा गोल थप्दै खेलमा ३–० को अग्रता लियो । सुवास गुरुङको क्रसमा एपीएफका गोलकीपर अमृत चौधरीले पञ्च गरेपछि उछिट्टिएको बललाई अजयी मार्टिन्सले दिशा दिदै गोलमा परिणत गर्नुभयो ।
एपीएफका लागि नवीन लामाले पेनाल्टीलाई गोलमा परिणत गर्दा ऊ खेलमा वापसी गरेको थियो । र अन्तरलाई ३–१ मा पुर्याउनुभयो । ७२ औं मिनेटमा एपीएफका आशिष तामाङले गोल फर्काएपछि गोल अन्तर घटाउँदै एपीएफ ३–२ मा पुर्याउँदा खेल रोमाञ्चक स्थितिमा पुगेको थियो । खेल सकिन दुई मिनेट मात्रै बाँकी रहँदा मार्टिन्सले अर्को गोल थप्दा संकटाले रोमाञ्चक स्पर्धामा आफ्नो जित सुनिश्चित गर्यो ।