एजेन्सी
काठमाडौं, पुस २५ गते । टटनहमका कप्तान एवम् स्ट्राइकर हयारी केन घुँडाको चोटको कारण आगामी अप्रिल महिनासम्म मैदान बाहिर रहने हुनुभएको छ । २६ वर्षीय केन साउथम्पटन विरुद्धको खेलमा घाइते हुनुभएको थियो । उक्त खेलमा टटनहम पराजित भएको थियो ।
स्परले एक वक्तब्य जारी गरी विशेषज्ञले शल्यक्रियाको आवश्यकता देखाएको हुँदा केन केही महिनाका लागि मैदान बाहिर रहने जनाएको छ । यूरोकप २०२० सुरु हुनुभन्दा दुई महिना अघि उहाँ अप्रिल महिनामा अभ्यासको लागि मैदानमा फर्किने जनाइएको छ ।
वक्तब्यमा घुँडा जोर्नी तलको ‘टेन्डन’ विच्छेद भएको हुँदा शल्यक्रिया जरुरी भएको विशेषज्ञलाई उद्धृत गर्दै उल्लेख गरिएको छ । जारी सिजनमा केनले ३१ खेलमा २७ गोल गर्नुभएको छ । टटनहमका व्यवस्थापक जोस मौरिन्होले उहाँको योगदानलाई हेरेर केही महिना टोलीलाई केनको अभाव रहने बताउनुभयो ।
प्रिमियर लिगमा स्पर्स छैठौं स्थानमा छ । चौथो स्थानको चेल्सीभन्दा चार अङ्क कम रहेको छ ।