गोरखापत्र अनलाइन
काठमाडौं, पुस २७ गते । एपीएफ क्लबले न्यू डाइमण्ड भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक न्यू डाइमण्ड क्लबलाई फाइनलमा ३–० ले हराउँदै एपीएफले उपाधि रक्षा गर्न सफल भएको हो ।
न्यू डाइमण्ड र एपीएफ क्लबले उपाधिको लागि लगातार तेस्रो पटक भिडेको हो । पहिलो संस्करणमा फाइनलसम्म एपीएफ पुगेपनि न्यू डाइमण्डले उपाधि उचालेको थियो । एपीएफले भने लगातार दुई पटक जित्न सफल भएको हो । एपीएफले तेस्रो संस्करणको फाइनलमा सोझो सेटमा सहज जित हात पार्यो । २५–२०, २५–२३ र २५–१८ ले एपीएफ उपाधि आफ्नो पक्षमा पार्यो ।
विजेता भए वापत् एपीएफले चार लाख एक सय एक रुपियाँसँग ट्रफी उचाल्यो । न्यू डाइमण्डले तीन लाख एक सय एक रुपियाँ लिएर उपविजेतामा चित्त बुझायो ।
नेपाल पुलिस क्लबले प्रतियोगितामा तेस्रो स्थान प्राप्त गर्यो । त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस प्रतियोगितामा तेस्रो स्थान हासिल गर्यो ।