एजेन्सी
काठमाडौं, माघ १ गते । दक्षिण अफ्रिकी अलराउण्डर अब्राहम डिभिलियर्स टी ट्वान्टी विश्वकप क्रिकेटका लागि अफ्रिकी क्याम्पमा फर्किने मनशाय बनाउनुभएको छ । उहाँ मई २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरिसक्नुभएको छ ।
दक्षिण अफ्रिकी क्रिकेट टोलीका कप्तान फाफ डु प्लेसिसले डिभिलियर्सको पुनरागमनबारे सम्वाद भइरहेको बताउनुभयो । डिभिलियर्स आफैंले पनि चाँडै क्रिकेट ग्राउण्डमा फर्किने आशा गरेको खुलाउनुभयो । क्रिकेट साउथ अफ्रिकाको व्यवस्थापनमा ठूलै बदलाब आएपछि डिभिलियर्सको पुनरागमनको सम्वाद पनि बाक्लिएको छ । सह खेलाडीहरु मार्क बाउचर प्रशिक्षक र ग्रैम स्मिथ क्रिकेट बोर्डका निर्देशकमा नियुक्त भएपछि डिभिलियर्सले फर्किने इच्छा तिब्र बनेको हो ।
डिभिलियर्सले आइ पी एल क्रिकेट पनि नजिकै रहेको जनाउनुहुँदै सकेजति प्रदर्शनलाई उत्कृष्ट बनाउन प्रयासरत रहेको बताउनुभयो । आफू प्रशंसक र टोलीलाई निराश बनाउन नचाहेकोले धेरैथोक आफ्नो लय र बोर्डसँगको कुराकानीमा भर पर्ने उहाँले प्रष्ट्याउनुभयो ।