एजेन्सी
काठमाडौं, माघ ३ गते । भारत र अष्ट्रेलियाबीचको दोस्रो अन्तर्राष्ट्रिय एकदिवसिय खेल राजकोटमा हुँदैछ । श्रृखंलाको पहिलो खेलमा लज्जास्पद हार बेहोरेको भारतले दोस्रो खेलमा जित हात पार्ने लक्ष्यसहित घरेलु मैदानमा उत्रिनेछ ।
अष्ट्रेलिया भने तीन म्याचको श्रृखंला अन्तगर्तको दोस्रो एकदिवसिय खेल जितेर श्रृखंला आफ्नो पक्षमा पार्ने विश्वासका साथ भारत विरुद्ध मैदानमा उत्रिनेछ । घरेलु टोली पहिलो खेलमा ब्याटिङ्ग र बलिङ्ग दुबै विधामा अष्ट्रेलिया समक्ष फितलो देखिएको थियो । पहिलो खेलमा मध्यक्रम धराशायी भएपछि २५५ रनको सामान्य योगफलमा समेटिन पुगेको भारतले मध्यक्रमलाई स्थिर बनाउन कप्तान विराट कोहलीलाई अझै माथि पठाउने रणनीति अन्तगर्त ब्याटिङ्ग गर्नेछन् ।
पूर्णशक्तिको हार्दिक पाण्ड्या र भुवनेश्वर कुमार बिनाको भारतीय टोलीले पहिलो खेल १० विकेटले गुमाउँदा चर्को आलोचना गरिएको थियो । दोस्रो एकदिवसिय खेलमा भारतले उक्त भुल सुधार गर्ने प्रयत्न गर्नेछ । ऋषभ पन्त घाइते हुन पुग्दा केदार जाधवको वापसीको ढोका खुलेको छ ।
अष्ट्रेलिया विरुद्ध घरेलु मैदानमा भारतले लगातार चारपटक हार बेहोरिसकेको छ । दोस्रो खेलमा हार बेहोरे भारतले घरेलु मैदानमा लगातार पाँच पटक अष्ट्रेलियासँग हार्ने नयाँ कीर्तिमान बनाउन पुग्नेछ । जुन कप्तान विराट कोहलीका लागि दुखद हुनेछ । भारतले घरेलु मैदानमा कुनै एक टोली विरुद्ध पाँच खेलमा हार बेहोरेको पाकिस्तान र वेष्टइन्डिजसँग हो । पाकिस्तान विरुद्ध १९९९ देखि २००४ सम्म उसले लगातार पाँच एकदिवसिय खेलमा हार बेहोरेको थियो । त्यसअघि १९८४ मा वेष्टइन्डिज विरुद्ध उसले लगातार सात खेलमा हार बेहोरेको प्रतिकूल कीर्तिमान छ ।