एजेन्सी
काठमाडौं, माघ ४ गते । बेन्न स्टोक्स र ओलै पोपले शतकीय पारी खेलेपछि इंग्ल्याण्डले दक्षिण अफ्रिका विरुद्धको तेस्रो टेष्ट खेलको पहिलो पारीमा ठूलो योगफल तयार गरेको छ । उसले नौ विकेटको क्षतिमा ४९९ रनमा पारीको घोषणा गरेको छ ।
जवाबमा शुक्रबार दोस्रो दिन नै आफ्नो पहिलो पारी सुरु गरेको दक्षिण अफ्रिकाले कमजोर सुरुवात गरेको छ । तेस्रो दिनको खेल सुरु हुँदा उसले मात्र ६० रन जोड्दा ओपनर पिटर मलान र जुबैर हाम्जाको रुपमा दुई विकेट गुमाएको छ । अर्का ओपनर डीन एल्गर अविजित ३२ तथा एन्रीक नोर्जे क्रिजमा ब्याटिङ्ग गर्दैछन् । इंग्ल्याण्डका लागि डम बेस्सले दुबै विकेट लिनुभयो ।
यसअघि पोर्ट एलिजाबेथमा टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको इंग्ल्याण्डले १४८ रनमै चार विकेट गुमाएर दबाबमा आएको थियो । तर स्टोक्सले पोपसँग पाँचौं विकेटका लागि २०३ रनको साझेदारी गर्दै इंग्ल्याण्डको पारी उकास्नुभयो । स्टोक्सले १२० रन बनाउँदा पोप १३५ रन बनाएर अविजित रहनुभयो । दक्षिण अफ्रिकाका लागि केशवर महाराजले सर्वाधिक पाँच विकेट लिनुभयो । कगिसो रबाडाले दुई तथा एन्रीक नोर्जे र डेन पेटरसनले सामान एक एक विकेट लिनुभयो ।
चार म्याचको टेष्ट श्रृखंला १–१ को बराबरीमा रहेको छ ।