एजेन्सी
काठमाडौं, माघ ४ गते । नेपाली लेग स्पिनर सम्मिलित मेलबर्न स्टार्सले अष्ट्रेलियामा जारी बिग बैश लिगमा दशौं जित हात पारेको छ । मेलबर्नले आफ्नो एघारौं खेलमा पर्थ स्क्रचर्सलाई दश रनको झिनो अन्तरले पराजित गरेको हो ।
मेलबर्नमा जरी लिगमा मेलबर्न स्टार्सले प्रस्तुत गरेको १४२ रनको सामान्य लक्ष्य पछ्याउँदै पर्थ २० ओभर खेलेपनि नौ विकेटको क्षतिमा मात्र १३१ रनमा सीमित हुन पुग्यो । कुनै समय पन्ध्रौं ओभरमा मात्र चार विकेटको क्षतिमा ९४ रन जोडेको पर्थको ब्याटिङ्ग क्रम धरमराउन पुग्दा उसले जितका लागि आवश्यक ३१ बलमा ४७ रन जोडन सकेनन । पर्थका लागि क्यामरुन बनक्रफ्टले बनाउनुभएको ३२ रन नै सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो ।
मेलबर्नलाई जित दिलाउन निक मैडिन्सनले सर्वाधिक तीन तथा सन्दीप लामिछाने, डेनियल वार्नेल, क्लिन्ट हिन्क्लीफ र कप्तान ग्लैन म्याक्सवैलले सामान एक एक विकेट लिनुभयो । सन्दीपले चार ओभरमा २९ रन खर्चिनुभयो ।
यसअघि टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको मेलबर्नले २० ओभरमा छ विकेटको क्षतिमा १४१ रनको औसत योगफल तयार गर्यो । ओपनर हिल्टन कार्टराइट अविजित रहनुहुँदै ५८ रनको योगदान दिनुभयो । मध्यक्रममा मार्कस स्टोनिस, नाथन कौल्टर नाइल र निक मैडिन्सनको रुपमा लगालग तीन विकेट झरेपछि दबाबमा आएको मेलबर्नलाई कप्तान म्याक्सवैलले २५ तथा निक लर्किनको २४ रनको योगदान औसत योगफलतर्फ उन्मुख गरायो ।