गोरखापत्र अनलाइन
काठमाडौं, माघ ४ गते । नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबलाई हराएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा पुलिसले जावलाखेलमाथि २–० को जित हात पारेको हो । पहिलो हाफमा १–० को अग्रता लिएको पुलिसले दोस्रो हाफमा समेत गोल गर्दै उक्त अग्रतालाई दोब्बर पारेर खेल २–० ले आफ्नो पक्षमा पार्यो । खेलको २७ औं मिनेटमा सौजन्य राईले गोल गर्नुहुँदै पुलिसलाई १–० को अग्रता दिलाउनुभयो । सौजन्यले हेडमार्फत् गोल गर्नुभयो ।
दोस्रो हाफ सुरु भएको पाँच मिनेट नबित्दै सुमन लामाको प्रहार गोलमा परिणत भयो । उहाँले ४८ औं मिनेटमा गोल गर्दै पुलिसको अग्रता २–० पार्नुभयो । सुमनले जारी लिगमा आफ्नो चौथो गोल गर्नुभयो ।
जितसँगै तीन अङ्क हासिल गरेर पुलिसले सात खेलबाट ११ अङ्क पुर्याएको छ । ऊ तालिकाको चौथो स्थानमा उक्लिएको छ । जावलाखेल भने जारी लिगमा लगातार दोस्रो खेलमा हार बेहोरेको छ । उसले सात खेलमा नौ अङ्क जोडेको छ ।
यसअघि शुक्रबार सम्पन्न खेलमा हिमालय शेर्पा क्लबले लिगको शिर्ष स्थानमा रहेको मच्छिन्द्र क्लबमाथि २–० को जित हात पारेको थियो ।