एजेन्सी
काठमाडौं, माघ ६ गते । ओपनर लेण्डी सिमोन्सले विष्फोटक ब्याटिङ्ग गरेपछि वेष्टइन्डिजले आयरल्याण्ड विरुद्धको तेस्रो तथा अन्तिम टी ट्वान्टी खेल नौ विकेटले जितेको छ । जितसँगै तीन म्याचको टी ट्वान्टी श्रृखंला १–१ को बराबरीमा टुंगिएको छ ।
आयरल्याण्डले प्रस्तुत गरेको १३९ रनको लक्ष्य वेष्टइन्डिजले मात्र एक विकेटको क्षतिमा नौ ओभरको खेल बाँकी छदै पुरा गर्यो । ओपनर सिमोन्सले ४० बलमा पाँच चौका र दश छक्काको सहयोगमा अविजित रहँदै ९१ रन बनाउनुभयो । अर्का ओपनर एडविन लेविसले २५ बलमा ४६ रन बनाएर पेभेलियन फर्किनुभयो । निकोलास पूरन एक रन बनाएर अविजित रहनुभयो । आयरल्याण्डले लिएको एक मात्र विकेट सीमि सिंहको नाममा रह्यो ।
यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको आयरल्याण्डले १९.१ ओभरमा १३८ रनमा समेटियो । आयरल्याण्डका लागि केभीन ओ ब्रायनले सर्वाधिक ३६ तथा कप्तान एण्डी बल्ब्रीनले २८ रन बनाउनु अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । आयरल्याण्डलाई सस्तोमै समेट्न वेष्टइन्डिजका क्यारन पोलार्ड र ड्वायन ब्राभोले सामान तीन तीन तथा रोमारियो शेफर्ड र शरफेन रदरफोर्डले एक एक विकेट लिनुभयो ।
लेण्डी सिमोन्स खेलको म्यान अफ द् म्याच तथा क्यारन पोलार्ड म्यान अफ द् सेरिज घोषित हुनुभयो ।