गोरखापत्र अनलाइन
काठमाडौं, माघ ६ गते । त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युवा क्लबलाई हराएको छ । जितसँगै त्रिभुवन आर्मी लिगको शिर्ष स्थानमा उक्लिएको छ ।
दशरथ रङ्गशालामा सम्पन्न खेलमा आर्मीले च्यासलमाथि ३–० को एकतर्फी जित हासिल गर्यो । आर्मीले तीनै गोल खेलको दोस्रो हाफमा गर्यो । खेलको ५८ औं मिनेटमा भरत खवासले गोल गर्नुहुँदै आर्मीलाई खेलमा १–० को अग्रता दिलाउनुभयो । मिडफिल्डबाट सेसेहाङ आङदाम्बेले दिनुभएको पासमा शक्तिशाली प्रहार गर्नुहुँदै खवासले गोलको दिशा दिनुभयो ।
७३ औं मिनेटमा नवयुग श्रेष्ठले अग्रता दोब्बर पार्नुभयो । उहाँले विकास खवासले गर्नुभएको प्रहार एलनले बचाएपछि रिबाउन्डमा पेनाल्टी क्षेत्रभित्रबाट गर्नुभएको प्रहार रोक्न कुनै अवसर दिनुभएन । पेनाल्टी क्षेत्रभित्र छिरिङ गुरुङले नवयुग श्रेष्ठलाई लडाएपछि प्राप्त पेनाल्टीलाई सन्तोष तामाङले सदुपयोग गर्नुहुँदै गोलमा परिणत गर्नुभयो । उहाँको गोलसँगै आर्मीले खेल ३–० ले जित्न सफल भयो ।
आर्मीले सात खेलमध्ये पाँचमा जित, १ बराबरी र एकमा हारसँगै १६ अङ्क बटुलेको छ । दोस्रो र तेस्रो स्थानको मनाङ र मच्छिन्द्रसँग आर्मी स्पष्ट तीन अङ्कको अग्रता कायम गरेको छ ।
आइतबार नै सम्पन्न पहिलो खेलमा संकटा क्लबले ब्रिगेड ब्वाइजसँग गोलरहित बराबरी खेल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा दुबै टोलीले प्राप्त गरेको अवसरलाई गोलमा परिणत गर्न नसक्दा खेल गोलरहित बराबरीमा सम्पन्न भयो ।