गोरखापत्र अनलाइन
काठमाडौं, माघ ९ गते । सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले एपीएफ क्लबलाई हराएको छ । बिहीबार सम्पन्न दोस्रो खेलमा जावलाखेलले एपीएफमाथि १–० को जित हात पारेको हो ।
दशरथ रङ्गशालामा सम्पन्न खेलको दोस्रो हाफमा दश खेलाडीमा सीमित जावलाखेलले खेलको ७१ औं मिनेटमा गरेको गोल नै निर्णायक हुन गयो । जावलाखेलका लागि फोडे फोफानाले गर्नुभएको गोल एपीएफमाथि जित हात पार्न पर्याप्त भयो ।
खेलको ५७ औं मिनेटमा जावलाखेलका गोलरक्षक टिकेन्द्र थापाले पेनाल्टी क्षेत्र बाहिर आएर हातले बल समातेपछि रातो कार्ड पाउनुभयो । पछिल्लो दुई खेलमा जावलाखेलले हार बेहोरेको थियो । एपीएफलाई हराएर जावलाखेलले आठमध्ये तीन खेलमा जित, तीनमा बराबरी र दुईमा हारसँगै १२ अङ्क जोडेको छ । ऊ तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । एपीएफ भने आठ खेलमध्ये एकमा जित, दुईमा बराबरी र पाँचमा हारसँगै पाँच अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ ।