logo
२०८१ मंसिर ८ शनिवार



अमेरिका र ओमान सम्मिलित श्रृखंलाका लागि नेपाली क्रिकेट टोलीको घोषणा

खेलकुद |


अमेरिका र ओमान सम्मिलित श्रृखंलाका लागि नेपाली क्रिकेट टोलीको घोषणा


गोरखापत्र अनलाइन
काठमाडौं, माघ १० गते । आईसीसी विश्वकप लिग डिभिजन दुई अन्तगर्त घरेलु मैदानमा हुने त्रिदेशीय श्रृखंलाका लागि नेपालले १४ सदस्यीय क्रिकेट टोलीको घोषणा गरेको छ । टोलीमा कमलसिंह ऐरीले पहिलो पटक स्थान सुनिश्चित गर्नुभएको छ ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा बन्द प्रशिक्षणका २४ खेलाडीमध्ये त्रिदेशीय श्रृखंलाका लागि १४ खेलाडीको सूची नेपाल क्रिकेट संघले सार्वजनिक गरेको हो । नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिदेशीय श्रृखंला माघ २२ गते सुरु भई २९ गतेसम्म चल्नेछ । प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा हुनेछ । विगत्को प्रदर्शनले टोलीमा स्थान सुनिश्चित हुने अनुमान गरिएपनि सुवास खकुरेल, सन्दीप जोरा, किशोर महतो र पवन सर्राफ १४ सदस्यीय टोलीमा अटाउन सकेनन । खकुरेल ओपनर ब्याट्सम्यान हुन् । उहाँले मलेसियाको राष्ट्रिय टोली सेक्रेटरी एलेभन विरुद्धको खेलमा राम्रो प्रदर्शन गर्नुभएको थियो ।
सर्राफ अलराउण्डर एवम् टी ट्वान्टीमा राम्रो ‘फिनिशर’को रुपमा चिनिनुहुन्छ । जोरा पनि अलराउण्डर हुन् । किशोर महतो मध्यम गतिका बलर हुनुहुन्छ । मलेसिया विरुद्धको तीन म्याचको एकदिवसिय श्रृखंलाको दोस्रो खेलमा तीन विकेट लिनुभएका उहाँले तेस्रो तथा अन्तिम खेलमा एक विकेट लिनुभयो ।
चारैजना खेलाडी वैकल्पिक सूचीमा परेका छन् ।
घोषित टोलीका सदस्यहरुमा आरिफ शेष, दिपेन्द्रसिंह ऐरी, अविनाश बोहरा, करण केसी, विनोद भण्डारी, ललितनारायण राजवंशी, पारस खडका, कुशल मल्ल, रोहितकुमार पौडेल, शरद भेषवाकर, सुशन भारी र सन्दीप लामिछाने छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?