गोरखापत्र अनलाइन
काठमाडौं, माघ १० गते । एपीएफ क्लबले पाँचौं एभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपको महिलातर्फको उपाधि जितेको छ । फाइनलमा उसले होंगान्जी न्यू डाइमण्ड स्पोर्टस् क्लबलाई हराएको हो ।
दशरथ रङ्गशालामा सम्पन्न खेलमा एपीएफले होंगान्जी न्यू डाइमण्डमाथि ३–१ को जित हात पार्यो । पहिलो सेट २५–२३ ले जितेको एपीएफले दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्यो । दुबै सेटमा न्यु डाइमण्डले एपीएफलाई कडा चुनौती दिएको थियो ।
तेस्रो सेटमा न्यु डाइमण्डले वापसी गर्दै २५–२३ ले आफ्नो पक्षमा पारेपछि खेल निर्णयका लागि चौथो सेटमा गएको थियो । चौथो सेटमा एपीएफले न्यु डाइमण्डलाई १८ अङ्गमा रोक्दै २५ ल्याएर उपाधि ३–१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
खेलको तेस्रो सेटको स्कोर २२–२० हुँदा प्रतिभा माली लडेर घाइते भएपछि केही समय खेल रोकिएको थियो । उक्त सेट न्यु डाइमण्डले आफ्नो पक्षमा पार्यो ।